रमेश बहादुर सिंह, फागुन २८ बझाङ । बझाङमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप सञ्चालन हुने भएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थाले पछि यस अघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
सङ्क्रमण फेरी बढ्न सक्ने भएकाले बुस्टर खोप लगाएको ६ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेकाहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशिले बताउनु भयो । ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन थालिएको जोशिले जानकारी गराए ।
कोभिड–१९ सङ्क्रमण भएकाहरूले पनि सङ्क्रमणमुक्त भएको एक महिना पछि बुस्टर डोज लिन मिल्ने उहाँले बताउनु भयो । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ । आगामी चैत्र ३ देखि ५ गतेसम्म अभियानको रुपमा बुस्टर डोज लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोही अनुसार जयपृथ्बी नगरपालिका , साईपाल गाउँपालिका, सुर्मा र बुगल नगरपालिकाको सबै वडाको स्वास्थ संस्थामा खोप अभियान सुरु हुने भएको हो ।
अहिले जिल्लामा ११ हजार ५ सय २० डोज खोप उपलब्ध रहेको र बाँकी पालिकाहरुमा पनि यो योजना सकिने बित्तिकै लगाउने योजना रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशिले जानकारी गराएका छन ।


