माघ २७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदभार ग्रहण गरेका छन् । शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण लिए लगत्तै उनले मुख्यमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्ट्राचार मुक्त प्रदेश बनाउने पहिलो निर्णय गरेका छन् ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले विहीबार प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाए पछि शाह मुख्य मन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेका रावलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरेपछि रावलले राजीनामा बुझाएका थिए ।
संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका काँग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी ब्याबश्था रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा कांग्रेसका प्रकाश देउवा र नेकपा एसका नेरश शाही मन्त्री बनेका छन । सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोप्यनियताको शपथ लिए सँगै उनीहरु दुई जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ को २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री बनेका छन् भने बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका नेकपा एकीकृत समाजवादीका नरेश शाही आन्तरिक आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन। उनीहरूलाई पनि प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । दबै जना मन्त्रीहरुले पनि पदभार ग्रहण गरेका छन ।



