माघ २३ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी तयारी थालिएको जानकारी दिए । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नु पर्ने छ ।\
सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउदै आएको थियो । सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नागरिक उन्मुक्ति पार्टी सकारात्मक बनेको छ । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने जनाएको छ ।


