गणेश नेपाली , नेपालको जातीय छुवाछुत र विभेद विरुद्धको आन्दोलनमा दलित शब्दले पारेको प्रभाव यति सशक्त भयो की यो आन्दोलनकै नाम दलित आन्दोलनका नाममा स्थापित भैसकेको छ। देशमा सम्पन्न विभिन्न समयका राजनीतिक आन्दोलन र क्रान्तिहरूको राप र तापले पनि यो शब्दलाई जातीय विभेद र छुवछुतको विरूद्ध प्रयोग गरेर संविधानमा नै यो शब्दको गरिमा बढेको छ । सम्विधानमै दलित अधिकार स्थापित गराएर सम्वैधानिक दलित आयोग समेतको व्यवस्था गरेको छ। जातीय विभेद तथा छुवाछुत विरुद्धको आन्दोलन टेलर युनियन, परिगणित जाती संघ, सर्बजन संघ, निम्न जाति संघ, अछुतोद्वार संघहरू नामका संगठनद्वारा हुदै आए तापनि २०२४ वि. सं. मा पहिलो पटक दलित शब्दले प्रवेश पाएको हो नेपालमा । माथि उल्लेख भएका विभिन्न संगठनहरूले पनि महत्वपूर्ण र क्रान्तिकारी शुरुवात गरेका भएपनि तिनीहरूको फैलावट स्थापना भएको जिल्ला भन्दा बाहिर हुन सकेको थिएन् । जब २०२४ सालमा दलित जन विकास परिषद स्थापना भयो स्थापनाको केही बर्षमा नै मेची देखि महाकालीसम्म संगठन बिस्तार भएको देखिन्छ । जातीय विभेद र छुवाछुतको आन्दोलनमा प्रवेश पाएको दलित शब्दले १९१० बि। सं। को मुलुकी ऐनले पानी नचल्ने अछुत भनेका जाति माथिको उत्पिडनको अवस्थालाई अभिव्यक्त गर्यो । समाजमा अपमानजनक र अवहेलित रूपमा बोलिने थरहरूको सम्मान, समानता र सामर्थ्यको अवस्थालाई पनि अभिव्यक्त गर्यो । त्यसैले दलित शब्दले नेपाली समाजमा व्याप्त जातीय छुवाछुत र विभेदको अवस्थाको पहिचान बनायो। दलित शब्द जातीय होईन अत्पिडन विभेद र छुवाछुतको अवस्था हो।
जातीय विभेद र छुवाछुतको आन्दोलन देशमा भएको सात सालको जनक्रान्तिको सत्र बर्ष पछि र बहुदलिय प्रजातन्त्रलाई राजा महेन्द्रले अपदस्थ गरी निंरकुश पञ्चायति व्यवस्था लादेको आठ बर्ष पछि देशमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापनाको आन्दोलन चलेको आठै बर्ष पछि यसै आन्दोलनको साथमा दलित आन्दोलन पनि राजनीतिक अधिकारका लागि समेत क्रियाशील भैरह्यो। दलित आन्दोलनलाई हाक्ने दलित नेताहरू नेपालमा लोकतन्त्र पुनर्स्थापना गर्न पनि अहोरात्र लागे। त्यस्तै सशस्त्र द्वन्द्वमा दलित मुक्तिमोर्चा नामक संगठन नेकपा माओवादीको भातृसंस्थाका रूपमा सशक्तता पूर्वक क्रियाशील भयो। लोकतन्त्रको पुनर्स्थापना देखि गणतंत्र र संघियताको आजको राजनीतिक प्रणाली सम्म पुग्दा दलित समुदायको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बेला दलित शब्द माथि नै प्रहार शुरू भएको छ।
यो शब्दमाथि गैर दलितहरूले प्रहार गर्न खोजेको कुरो त बुझियो । गैर दलितहरू यस शब्दलाई हरेक दृष्टिकोणबाट खारेज गर्न चहान्छन् किनकि उनीहरू नेपाली समाजमा जातीय विभेद हुदै नभएको र भएको थियो भने पनि अस्तित्वमा नरहेकोले जातीय विभेदको दुरूह अवस्था परिभाषित गर्ने यस शब्दलाई उच्चारण नै गर्नु हुदैन भनिरहेका छ्न् । दलित शब्द रहिरहदा सम्म जातीय विभेद र छुवाछुत रहिरहन्छ भन्न हिच्किचाउदैनन् र संविधानबाट नै यो शब्द हटाउनुपर्छ भन्न न्वारन देखिको तागत लगाईरहेका छ्न्। दलित शब्द नेपालको जातीय विभेद तथा छुवाछुत विरुद्धको आन्दोलनमा वि।सं। २०२४ सालदेखि मात्र प्रयोग भएको हो । के त्यसपछि मात्र जातीय विभेद र छुवाछूत आरम्भ भएको हो रु
गैरदलितहरूले जातीय रूपमा दलित अवश्था देशमा हुदै नभएकोले भनेर दलितको अवश्थालाई माथि उठाउन राज्यले विशेष व्यवश्था कानुनी , आर्थिक, राजनीतिक र सामाजिक रुपमा सम्बोधन नै नगरोस् । यदि यस्तो गरियो भने आफूले दबाएका र कुल्चिएका दलितहरूलाई पहिले जस्तो गर्न नसक्ने र आफ्नो भाग खोसिने भएकाले राज्यले दलित शब्द भनेर कहि कतै उल्लेख नै नगरोस् भन्ने अभिष्ट गैरदलितहरूको हो । यो अभिष्ट पुरा गराउन केही जातीय रूपमा दलित हुन बाध्य पारिएका जान्ने बुझ्ने भनेर कहलिएका दलित समुदायका विश्लेषक भनेर ख्याति पाएकाहरू नै लागीरहेको देख्दा उदेक लाग्छ । किंकर्तव्यविमुढ भईन्छ । दलित शब्दमा दोष देख्ने विद्वानहरूले जातीय विभेदका संरक्षक शब्दहरूमा किन दोष देख्न नसकेका होलान् रु मानव समुदायमा विभेदलाई संरक्षण गरिरहेका वर्ण व्यवस्थामा आधारित जातिहरूका विरूद्ध किन मौन बसिरहेका होलान् रु त्यस्ता बाहुन क्षेत्री सूचक खारेजीका लागि किन बोल्न नसकेका होलान् ?
दलित शब्दले विभेदको कुन रूपलाई कहा संरक्षण गरेको छ ? दलित शब्द आन्दोलनको नाम बनेर जातीय रूपमा हुने सबै खाले विभेद र छुवाछुतको उछितो काटिरहेको छ । जातीय विभेद र छुवाछुतको नामोनिशान मेटाउन लागेको शब्दको सामाजिक, राजनीतिक आयतन देखि दलित समुदायकै केही बुझक्कडहरूलाई किन गाह्रो भईरहेको होला ? दलित शब्द गैरदलित भनिएकाहरूले मन नपराउनुको मतलब हिन्दू वर्ण व्यवस्था भित्रको जातीय विभेद र छुवाछुत हट्नैपर्छ, सकिनैपर्छ भन्ने पवित्र सदासय हुनै सक्तैन् । किन कि उनीहरू आफूलाई उच्चवर्ण र जातिको देखाउने थर जात लेख्न गर्व गर्दछन् । दलित शब्दले उनीहरूको जातीय गर्वको पारो झार्दैछ भनेर नै दलित शब्द र आन्दोलन उनीहरूको टाउको दुखाई हो ।
दलितका शब्दका कारण विभेद भएको वा रहिरहने भन्ने हुदै होईन् । विभेदको कारण ति शब्दहरू हुन जसले व्रह्माको मुख, भुजा र नाभिबाट जन्मेर बनेको भनिने जात आफ्नो नामको पछाडी लेख्न पाएका छन् र सोही अनुसार खुट्टा बाट जन्मेको भनिने जातिलाई छुवाछुतको भेदभाव गरेर जातीय अहंकारमा रमाईरहेका हुन्छन् । चरम जातीय विभेद भोगिरहेकोहरूलाई विभेद विरूद्धको संघर्षलाई शसक्त बनाउने बाहेक अरू कुनै कुरो संग मतलब हुदैन् र छैन् । बर्तमानमा जातीय छुवाछुत र विभेद विरूद्धको लडाईलाई अस्तित्वमा राख्न सकेको शब्द दलित नै हो । अनि यो शब्द देखि किन आपत्ति, जातीय छुवाछुत र विभेद विरूद्ध बोल्ने र संघर्षरत केही योद्धाहरूलाई ? अचम्मको विषय त यो हो कि दलित शब्दका विरूद्धमा गैर दलित बोलिरहदा दलित समुदाय भित्र पर्ने व्यक्ति , केही वा बेसी जे जति छन् तिनीहरू नि बोलिरहेका छन् । यो साच्चिकै अचम्मको विषय हो । मौजुदा आरक्षण, समानुपातिक, समावेशी प्रणालीले दलित समुदायलाई हुनुपर्ने लाभ हुन सकेको छैन् । तर बेफाईदा नि त भएको छैन् । समानुपातिक समावेशी नहुदा के थियो प्रतिनिधित्वको अवस्था रु वर्तमानमा के छ ? लेखाजोखा हुन आवश्यक छ । त्यो लेखाजोखा एकपक्षिय भएर हुन सक्तैन् ।

दलित शब्दले उठाएको आन्दोलनले सदियौं देखि दलित समुदायलाई जातीय विभेद र छुवाछुत गरिरहेको मुख , भुजा र नाभिहरू भनिने समुदायलाई कठघरामा शिर झुकाएर उभिन बाध्य बनाई रहेको छ । जुन शब्दको उच्चारणले मात्र आफ्नो परिवार र समुदायमा गरिएका र गरिदै आएका जातीय विभेद र छुवाछुतले नैतिक रूपमा आफैलाई घोच्छ । नैतिक रूपमा पराजित गर्ने शब्दको अवसान गराउन यो शब्द रहिरहदासम्म विभेद पनि रहिरहन्छ भनेर गोहीको आशु झैं चिन्ता प्रकट गरेको संपूर्ण दलित समुदायले बुझ्न जरूरी छ । यो शब्द र आन्दोलनले इतिहासको निर्मम जातीय विभेद र छुवाछुत , दमन , शोषण , अन्याय , अत्याचार , बहिस्करण र बञ्चितिकरणले दलित समुदायको सामाजिक , शैक्षिक , राजनैतिक , आर्थिक , साँस्कृतिक , धार्मिक अवस्थालाई कति जर्जर बनायो र बनाईरहेको यथार्थलाई भ्रमित गरिरहेको वर्णवादलाई कदम कदममा सुध्रिन बाध्य बनाई रहेको छ ।


