माघ ०४ काठमाण्डौ । चुनाव सम्पन्न भएको दुई महिना पछि सातवटै प्रदेशसभाका सभामुख चुनिएका छन् । सभामुख चुनीएपछि प्रदेशसभा नियमित रुपमा सञ्चालन गर्न सहज भएको छ । सत्ता साझेदार दलहरूबीच भएको केन्द्रीय भागबण्डा अनुसार नेकपा माओवादी केन्द्रबाट ४ जना, नेकपा एमालेबाट २ जना र राप्रपाबाट एक जना प्रदेशसभाका समाभुख निर्वाचित भएका छन् ।
प्रदेश १ मा माओवादी केन्द्रका बाबुराम गौतम, मधेश प्रदेशमा एमालेका रामचन्द्र मण्डल, वाग्मती प्रदेशमा राप्रपाका भुवन पाठक, गण्डकी प्रदेशमा माओवादी केन्द्रका कृष्ण धिताल, लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तुलाराम घर्ती, कर्णालीमा एमालेकी नन्दा गुरुङ र सुदूर पश्चिम प्रदेशमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा पहिलो पटक महिला सभामुख नन्दा गुरुङ निर्वाचित भएकी हुन् । यस अघि सातवटै प्रदेशसभामा पुरुष सभामुख मात्रै रहेका थिए ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी २०३८ साल जेठ ८ गते बझाङको केदारस्यू गाउँपालिका वडा नम्बर –१ मा जन्मिएका हुन । नवनिर्वाचित सभामुख भण्डारीले बझाङमै स्कुले शिक्षा सकेर नेपालगञ्जबाट आइएस्सी गरेका छन । बझाङमै हुँदा २०५२ सालतिर एमालेनिकट विद्यार्थी संगठनबाट राजनीतिमा आएका भण्डारी स्नातक तहसम्मको अध्ययन सकेर बझाङ फर्किएका थिए । २०५८ सालतिर तत्कालीन माओवादी युद्धमा आबद्ध भएर भूमिगत बनेका भण्डारीले २०६४ साल पछि जिल्ला पार्टीको नेतृत्व गरेका थिए ।
त्यसैगरी कर्णाली प्रदेशमा सभामुख नन्दा गुरुङ देशभरकै प्रदेशसभा मध्ये पहिलो महिला सभामुख सभामुख हुन । एमाले प्रदेश कमिटीकी सदस्य उनीे दैलेखको नारायण नगरपालिका वडा नम्बर–७ नयाँगाउँमा २०२३ साल फागुन २ मा जन्मिएकी हुन । अहिले वीरेन्द्रनगर वडा नम्बर–२ की स्थायी बासिन्दा उनको बाल्यकाल भने परिवारको बसाइँ सरेका कारण बर्दियाको बढैयातालमा बितेको थियो । गुरुङले २०४६ साल अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैटौंमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०४६ साल पछि एमालेमा आबद्ध भएकी उनी एमालेको जिल्ला कमिटीमा ३ कार्यकाल सदस्य रहेकी थिईन ।
अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष रहेकी उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । २०५४ सालमा पतिको निधन भएपछि केही समय गुरुङ एकल महिला तथा महिलाको हकहितका लागि क्रियाशील भएकी थिइन् । अहिले उनी मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती पाल्पा २ (२) बाट प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित भएका हुन । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका घर्ती पहिलो प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका थिए । २०४७ सालबाट राजनीति सुरु गरेका घर्ती कपिलवस्तुको शिवगढीस्थित विद्यालयमा प्रधानाध्यापक रहेका थिए । २०५३ सालबाट सशस्त्र विद्रोहका लागि भूमिगत भएका उनले लुम्बिनी जिल्ला र प्रवासमा समेत रहेर जिम्मेवारी निर्वाह गरेका थिए । अध्ययनमा रुचि राख्ने घर्ती मार्क्सवादी राजनीतिका प्रखर वक्ताका रुपमा चिनिन्छन् । मार्क्सवादी दर्शन, नेपाली अर्थराजनीति, नेपालको आदिवासी जनजाति, वर्णविन्यास, राजनीतिक घटनाक्रमका सन्दर्भमा दर्जनौं लेख लेखेका छन् । उनी रोल्पाको साविक खुमेल गाविसमा २०२५ साउनमा जन्मिएका हुन् ।
गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर–२ का स्थिायी बासीन्दा हुन । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका धिताल संविधानसभा सदस्य पनि थिए । २०७० मा समानुपातिक प्रणालीबाट उनी सांसद निर्वाचित भएका थिए । धिताल २०५२ बाट नै पूर्णकालीन भएर नेकपा माओवादीमा लागेका थिए । उनको परिवार नै माओवादी युद्धमा होमिएको थियो । युद्धअघि उनी जिल्ला भेटेनरीमा जागिरे थिए ।
धिताल २०६४ देखि माओवादी केन्द्रको गोरखा इन्जार्च हुन् । कास्की, लमजुङमा पनि इन्चार्ज भइसकेका धिताल पार्टीको केन्द्रीय सदस्य समेत रहेका छन् । त्यसैगरी वाग्मती प्रदेशका सभामुख भुवन पाठक राप्रपाका महामन्त्री हुन् । नुवाकोटका पाठक समानुपातिकतर्फ निर्वाचित भएका हुन् । उनलाई एमाले, माओवादी केन्द्रसहित ६ दलीय सत्ता गठबन्धनले सघाएको थियो । उनी लामो समयम देखि राप्रपाको राजनीतिमा रहेका थिए । पञ्चायतकालमा व्यवस्था समर्थन विद्यार्थी नेता रहेका पाठकले बहुदल स्थापना पछि राप्रपाबाट पार्टी राजनीति सुरु गरेका हुन् ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल एमालेमा प्रवेश गरेको लामो समय भएको छैन । मण्डल प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । धनुषाको निर्वाचन क्षेत्र नम्बरं. १ को (२)बाट दोस्रोपटक प्रदेशसभामा जितेका मण्डल प्रदेशसभाको पहिलो कार्यकालमा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति समेत रहेका थिए । अध्यापन पेशामा रहेका मण्डल माओवादीको जनयुद्धकालमा भूमिगत भएका थिए । माओवादीको धनुषा जिल्ला नेतृत्व समेत सम्हालिसकेका मण्डल नेकपा विभाजन हुँदा एमालेमै रहेका थिए । त्यसपछि उनलाई माओवादी केन्द्रले प्रदेशसभा सांसद पदबाट निलम्बन समेत गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा मण्डल एमालेबाट उम्मेदवार भएर चुनाव जितेका हुन् ।
प्रदेश १ का सभामुख बाबुराम गौतम माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर –८ घर भइ ओखलढुंगा १ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतम प्रदेश सभामुखमा निर्विरोध निर्वाचत भएका थिए । प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनी माओवादी पार्टीको विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रीय सदस्य छन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो संसदीय अभ्यासमा नै उनले सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् ।


