गणेश नेपाली, मन्दिर , हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । वेद, पुराण, उपनिषद, गीताका श्लोक र मन्त्रहरू जहाँ गुञ्जन्छन् । ईश्वर प्रतिको श्रद्धा र विश्वासलाई प्रगाढ बनाउने स्थल पनि मन्दिर हो । के गर्दा पाप र के गर्दा पूण्य हुन्छ भनेर लोकलाई सदाचार , मानवता , नैतिक मूल्य र मान्यता सिकाउने पाठशाला पनि मन्दिरलाई मान्ने समाज हो हाम्रो। आधुनिक विद्यालय , महाविद्यालयीय शिक्षाको पहुच आम जनसमुदायमा नभएको ती समयहरूका शिक्षा केन्द्र पनि मन्दिरहरू नै थिए , होलान् भनेर सहजै अनुमान लगाउन सकिन्छ । आत्मा शान्ति र ज्ञानको केन्द्र समेत पनि मन्दिरलाई मानिएको थियो र छ पनि। अनेक कुलतबाट जोगिन मानवलाई मार्गदर्शन गर्ने पनि हो मन्दिर । अहिंसाको उद्गार , बसुधैब कुटुम्बकं , सर्बे भवन्तु सुखिन को उच्च मानवीय चेतनाको भाव मन मष्तिष्कमा पसाउन सक्ने मन्दिरको द्वार हो भनेर बुझ्ने समाजका लागि त्यहा प्रवेश पाउने उत्कट अभिलाषा कुन हिन्दूको थिएन होला ? आज पनि नेपाली समाज जतिसुकै विज्ञानमूखी किन नहोस् बिरालोले बाटो काट्दा अनिष्ट अशुभको संकेत भनी यात्रा विश्राम गर्ने वा यात्रा नै स्थगन गर्न पछि पर्दैन् ।
मानवीय चेतना , मूल्य , मान्यता , शान्ति , अहिंसा , परोपकार , सेवा , सद्भाव , अनुशासनको पाठ सिकाउने मात्र होईन कि इश्वरको भक्ति , उपासना गरेर यो लोक र परलोक समेत सुध्रिन्छ भन्ने विश्वास गरिने स्थल मन्दिरमा पूजा अनुष्ठान गर्न को हिन्दू हुँ भनेर स्वीकार्नेले मन्दिर भित्र प्रवेश गर्ने रहर नगर्ला ? रहर पुरा हुन कसैलाई त हिन्दू भएर नि निकै गाह्रो भएको छ। मन्दिरमा पूजा अनुष्ठान गर्न त जात उच्च हुनै प¥यो । धर्म शास्त्रका अनुसार सान संग मन्दिरमा पूजा अनुष्ठान गर्न ब्रह्माका मुखबाट जन्मेका ब्राह्मण , भुजाबाट जन्मेका क्षेत्री र नाभिबाट जन्मिएका भनिने वैश्य हुनुपर्ने र पाउबाट जन्मेका भनिने शुद्र भित्र राखिएका दलितहरूले मन्दिर पसेर पूजा अनुष्ठान गर्न सपना देख्नुलाई दुस्साहस मात्र ठानिएको छ ।
सयौं बर्ष जातीय विभेद र छुवाछुतलाई वर्णव्यवस्थाको निकृष्ट निर्देशनानुसार बाध्य भई विभेद स्वीकारिरहेको दलित समूदायले २००७ बि. सं. को जनक्रान्ति र सो भन्दा पहिले भगत सर्बजीत विश्वकर्माले बि.सं. १९९८ देखि थालेको जातीय र छुवाछुत विरुद्धको आन्दोलन संगै समानता र स्वतन्त्रताका बहस सतहमा देखिन थालेपछि दलित समुदायले निहुराईएको शिर ठाडो गर्न शुरू गरे । चुपचाप अन्याय सहन विवश हुनुपरेको अवस्थाको विरुद्ध मुख खोल्न थाले ।
अनेक कुरूतिलाई अस्वीकार गर्न थाले । कहि आफै हस्तक्षेप गरे । कहि समानता र स्वतन्त्रताका पक्षधर दल , संघ , संस्था र समुदायको पनि सहयोग भयो । वर्तमानमा पनि जातीय विभेद र छुवाछुत अनेक रुपमा प्रत्यक्ष परोक्ष जनजीवनमा जरा गाडेर बसेको छ । नेपाली समाजको चरित्र नै अनौठो छ । बाहिर शिक्षित , विद्वान , सुधारवादी , क्रान्तिकारी , चेतनशील , दार्शनिक देखिने तर जातीयताको कुरा आउने बित्तिकै पुरानै रुढीग्रस्त संस्कार छोड्न नसक्ने प्रवृत्ति सोचनीय विषय हुनुपर्छ ।
त्यसैले नेपाली समाज सहिष्णुताको नमुना हुदा हुदै पनि असहिष्णु लाग्छ । आधुनिक देखिन रुचाउनेहरू पनि पुरातन लाग्छन् । शिक्षितहरूको प्राज्ञिकताले उनीहरू स्वयम् को हृदयलाई उज्यालो बनाउन सकिरहेको छैन् । अनुकरणीय उदाहरणीयहरू व्यक्तित्व पनि बोल्नुपर्ने समयमा बोल्न सक्तैनन् । बोल्नेहरू एक्लो वृहस्पति बन्न विवश छन् । आखिर सबै क्षेत्रमा सुधार र परिवर्तन चहाने नेपाली मन जातीय कुरो आउदा किन साँघुरिएको छ ? युवा, युवा रहदैन् , विद्वान पनि त्यस्तै, आशा गरिएकाले निराश बनाउछ्न् जब कुरा जातीय समानताको आउछ जतीय चेतले सबैलाई औकातमा पु¥याई दिन्छ । तर पनि समाज सुधारका चरणहरूमा बहस र हस्तक्षेप नभइ नहुने रहेछ ।
भगत सर्बजित विश्वकर्माले थालेको जातीय विभेद विरूद्धको शङ्खघोषले विभेद विरूद्ध सतहमा ल्याएको बहस आजसम्म आइपुग्दा आन्दोलन , अभियान , अन्तरक्रिया , प्राज्ञिक अध्ययन , अनुसंधानहरूका अनेक आयामहरूमा व्यापकता पाएको छ ।
विगतमा जातीय विभेद भइरहदा विभेद गर्नुपर्छ र सहनुपर्छ भन्ने पुस्ता थिए । आज त्यस्तो छैन् । सिद्धान्तका ठेलीमा जातीय विभेद र छुवाछुत गर्नुहुदैन् भनेर अध्ययन अनुसंधान गरेको पठित पुस्ता छ । यो पुस्तालाई के ठिक के बेठिक, के मानवीय के अमानवीय , के मर्यादा के अवहेलना , कसलाई अन्याय भएको छ , को अन्यायी हो , को पिडित हो , को पिडक हो , कसले गुमाई मात्र रहेको छ , कसले पाई मात्र रहेको छ , सब थाहा पाउने पुस्ता हो यो । अनेक उत्पिडनका कारण सबै थाहा पाउछ यो पुस्ताले । तर जब बोल्नुपर्ने समय आउछ विशेष गरेर जातीय असमानताका या विभेदका घटना घट्छन या त मौन बसिदिन्छन् या उत्पिडितका विरूद्धमा बोल्न कुनै हिच्किचाहट नै नभएका संवेदनहीन अवहेलनापूर्ण अभिव्यक्ति दिनुलाई सामान्य ठान्छन् । उत्पिडितका पक्षमा बोलिदिनेहरू हुदै नभएको भन्ने पनि होईन् ।
त्यसरी न्यायका पक्षमा बोलिदिनेहरूको आवाज ठूला अन्यायी आवाजका अगाडी दब्ने गरेको छ । जे होस् केही दशक पहिले भन्दा अहिलेको अवस्था बोल्न सकिने , हुदै गइरहेको भने छ । सामाजिकीकरण गरिने र गरिनुपर्ने सवालमा भने समाज मौन बस्दछ । बसिरहेको छ । सामाजिक नियमहरू यस्ता बनेका छन् कि समाजिकिकरण हुन् या गर्न आन्दोलन हुनैपर्ने भएको छ । मन्दिरमा दलित गैर दलित संगै पूजा गर्ने अवस्था हृदयदेखि सिर्जना हुन् सकेकै छैन् । ईनार पधेँराहरू फरक फरक जात अनुसार पानी चल्ने र नचल्नेहरूका बनाईएका छन् । यहाँसम्म कि मसानघाटको चिता निर्माण गरिने कतिपय गाउँ शहरहरूमा पनि फरक नै छन् । यसरी विभेद हुने पधेरा , ईनार , मन्दिर , देवालयहरूमा विभेद हुनु हुदैन भनेर विरोध भईरहेको छ । संविधानको मर्म र भावना अनि प्रावधान अनुसार समानताको पक्षमा सबै जात जातिका नेपाली जनले बोल्नु पर्ने हो । बरू नेपाली जन त कति विचित्रको छ कि मानिसका विचमा हुने जातीय विभेद र छुवाछुत कुनै हालतमा पनि अस्वीकार्य हो र गरिनु , गर्नु र सहनु पशुतुल्यता हो भन्ने कुरा विज्ञान , कानून , मानवीय , अरू पनि पक्षबाट बुझेको छ ।
तर समानताका कार्यक्रम , योजना , अभियान र आन्दोलनलाई विरोध गरिहाल्छ । मिश्रित बसोबास भएका गाउँ र टोलमा गैर दलित छिमेकिले दलित छिमेकिलाई विवाह , व्रतबन्ध , धार्मिक अनुष्ठान लगायतका साँस्कृतिक र धार्मिक लगायतका काजबारहरूमा निमन्त्रणा नदिनु वर्ण व्यवस्थामा आधारित जातीय सामाजिक उपेक्षा कुन हदसम्म विद्यमान छ भन्ने चाडपर्व र विवाह लगायतका सामाजिक पारिवारिक सँस्कार सम्पन्न हुने बेला स्पष्ट हुने गर्दछ । यहाँसम्मकि बाहुन र क्षेत्री समुदायका घर नजिक दलित समुदायसंग जतिसुकै सम्पत्ति भएपनि घरजग्गा खरिद गर्न नदिने प्रवृत्ति जातीय विभेद , छुवाछूत , सामाजिक बञ्चितिकरण र बहिष्करणको कुरूप अवस्था हो । वर्तमान समाज २००७ बि. सं. पूर्वको समाजलाई रूढीग्रस्त , अन्धविश्वासी , अशिक्षित भन्ने आधुनिक समाज हो । वर्तमान समाजको धारणा , विचार , प्रवृत्ति पनि संकिर्ण र असहिष्णु छ ।
यदि मंदिर प्रवेश, पधेरा र इनार , साँस्कृतिक पर्वहरू जातीय मर्यादाक्रम अनुसार छुवाछुत ग्रस्त हुदैनथे भने मन्दिर प्रवेश लगायतका अभियान , आन्दोलन , गोष्टि , अन्तरक्रिया , पनि हुदैनथे होला । जातीय विभेद र छुवाछुतलाई उन्मूलन गर्न देशमा संविधान बनाईदैनथ्यो । खुला अवहेलनाको केन्द्र मन्दिर हुन्थेन भने किन प्रश्न उठ्थ्यो होला । जातीय विभेद र छुवाछुतको कुचक्रले सताइएको दलित समूदाय जहाँ जहाँ विभेद देख्छ त्यहाँ त्यहाँ विभेद विरुद्ध बोल्न चहान्छ अनि बोल्ने कोशिश गर्छ , कहि कहि त बोल्न थाल्छ र बोल्छ । कतै कतै बोल्ने मात्र होईन विभेद विरुद्ध हस्तक्षेप पनि गर्छ । सुदूरपश्चिममा यस्तो हस्तक्षेप शैलेश्वरी मन्दिर , सिलगढी, डोटीमा भयो ।
बि.सं. २०५८ श्रावण २८ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले दलित समुदायका लागि मठ मन्दिर प्रवेश खुल्ला संसदबाट घोषणा गरेपछि धनगढीमा रहेको लक्ष्मी नारायण मन्दिरमा दलित समुदायले सामुहिक प्रवेशको प्रयास ग¥यो । अनेक उपाय निकालिए त्यो प्रवेशलाई रोक्न , अनेक तिकडम गरिए त्यो प्रवेशलाई निरुत्साहित गर्न ।
बि.सं.२०१८ मा स्व. टीकाराम पार्कीले प्रवेश गर्नुभएको शैलेश्वरी मन्दिर प्रवेशले सो मन्दिरमा पूर्व सभामुख दमननाथ ढुंगानासंग दलित महिला संघकी अध्यक्ष एवम् राष्ट्रीय दलित आयोगकी पूर्व सदस्य सचिव दुर्गा सोबले प्रवेश गरेपछि शैलेश्वरी मन्दिरमा प्रवेश गर्ने अभियानले तिब्रता पायो । हाल आएर मन्दिरमा विगतमा हुने जातीय विभेद र छुवाछुत हटेको छ । समानताका लागि गरिएका हस्तक्षेप र प्रयासलाई दुस्साहस ठान्ने प्रवृत्ति वर्णवादी नस्लीय डाह हो । विभेद छुवाछुत कायम रहेका मन्दिरहरूमा विभेद र छुवाछुत हटाउन जब जब प्रयास गरिन्छ तब तब आफ्नो मन्दिर आफै बनाए भैहाल्यो नि भनेर दलितले , कथित बाहुन क्षेत्रीहरूले पूजा गर्ने मन्दिरहरूमा प्रवेश गर्नु हुदैन् घुमाएर विभेद र छुवाछुत मन्दिरहरूमा कायम नै राखी राख्ने नियत निर्लज्ज भएर अभिव्यक्ति दिने गरेका छन् । यस्तो यथास्थितिवादी विचारले समाजमा विद्यमान कुप्रथालाई मलजल गर्ने नै भयो । यो विचार भित्रको प्रवृत्ति नै सामन्ती हो ।
यो प्रवृत्तिको अभिष्ट भनेकै दलित समुदायको सामाजिकिकरणलाई रोक्ने हो । कथित बाहुन क्षेत्रीको सामाजिक बहिष्करण र बञ्चितिकरणवादी सोचका कारण दलित समुदायले आफ्नो लागि अलग्गै मन्दिर बनाएको पनि देखिन्छ । त्यसरी बनाएका देवालय र मन्दिरहरू आर्थिक दृष्टीले महत्व राख्न थालेपछि या पर्यटकिय रूपमा आकर्षक हुन थालेपछि दलित समुदायको संरक्षकत्व र स्वामित्व लाई खोसिएको छ वा खोस्ने प्रयास भएका छन् । बि. सं. २०२० को दशकमा निर्माण भएको सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उप–महानगरपालिका वार्ड नं. –१ स्थित लक्ष्मी नारायण चोकमा लक्ष्मी दमिनीले निर्माण गरेको लक्ष्मी नारायण मन्दिर उनको शेषपछि दलित समुदायलाई प्रवेश नै निषेध गरिएको अवस्था थियो । दलित महिलाले निर्माण गरेको लक्ष्मीनारायण मन्दिरका उत्तराधिकारी दलितलाई हुन दिईएन् । उनी पछि यो मन्दिर दलित समुदायबाट खोसिएको अवस्थामा छ ।
दलित समुदायले बनाएको मन्दिर आर्थिक , सामाजिक , शैक्षिक , साँस्कृतिक र धार्मिक आध्यात्मिक दृष्टीले महत्वपूर्ण र सम्पन्न भयो भने खोसिने रहेछ भन्ने प्रमाण हो धनगढीको लक्ष्मीनारायण मन्दिर । अनि किन बनाउनु प¥यो त दलित समुदायले अलग्गै मन्दिर ? यस अर्थमा विभेद र छुवाछुतलाई प्रश्रय दिईरहेका कुनैपनि मठ मन्दिरमा दलित समुदायको प्रवेश जायज छ ।


