साउन ०८ दार्चुला । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि दार्चुलामा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको छ । अनुदान रकम आउन थालेपछि उद्योग दर्ता गर्ने क्रम बढेको हो । दार्चुलामा उद्योगको सङ्ख्या दुई हजार ३ सय ५३ पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४ सय ९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी गराए । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा एक हजार ८ सय ५४ उद्योग दर्ता भएका थिए ।
यस्तै आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा १ सय ३९ वाणिज्य पसल दर्ता भएका थिए । गत वर्ष १ सय १२ उद्योग नवीकरण भएका थिए । सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका उद्देश्य थप गरिएको थियो । वाणिज्यतर्फ २ सय ८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले जानकारी गराए ।
उक्त कार्यालयले गत आर्थिक वर्षमा १० लाख १३ हजार ७ सय १५ रुपैया राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालूतर्फ कूल दुई करोड पाँच लाख बजेट रहेकामा एक करोड ४६ लाख ३७ हजार ४ सय १३ रुपैया खर्च भएको थियो । यस्तै पुँजिगततर्फ कूल ८१ लाख ४३ हजार मध्ये ७१ लाख ३० हजार ४ सय ४२ रुपैया खर्च भएको कार्यालयले जनाएको छ । त्यसैगरी मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक स्थानको १ सय मिटर भित्र मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको हो । मदिरा बिक्री वितरण ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम सार्वजनिक स्थानको कम्तीमा १ सय मिटर भित्र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष हीरासिंह धामीले जानकारी दिए ।
गाउँपालिकाले वडा कार्यालय, लिका कार्यालय, विद्यालय क्षेत्र वरपर मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरण तथा ओसार पसारमा पनि बन्देज लगाएको छ । यस अघि वडा नम्बरं ५ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । मदिराका कारण समाजमा विकृति बढ्दै गएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

