मंसिर २१ कञ्चनपुर । स्वाश्थ्य विमा भए पनि सेवाग्रहीले सेवा भने पाउन सकेका छैनन । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर–१ का चन्द्रदेव जोशीले स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा गराएका भए पनि कार्ड सहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जादा सेवा नपाएको गुनासो गरे । अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजेको बताउदै अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधि वापतको शुल्क लाग्ने निशुल्क नपाईने बताएको गुनासो गरे ।
उनले विमा भएर पनि एक हजार आठ सय बराबरको औषधि खरिद गरेर आएको बताए । स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भनेको बताउदै उनले अस्पतालमा आउँदा शुल्क लिने गरेको बताए । विमा गरेर पनि सेवा नपाउने भए बीमा गरेर के फाइदा उनले प्रश्न गरे । जोशीसंगै अस्पतालमा भेटिएकी जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गरिन ।
उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा नपाएको गुनासो गरिन । बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन उनले भनिन । स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ । उपचारकै लागि अस्पताल आएका भीमदत्त नगरपालिका वडा नम्बर–६ का कविराज भट्टले पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताए ।
हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन, स्वास्थ्य बीमा गरेपछि एक पटक पनि सेवा लिन पाएको छैन उनले भने । सरकारले स्वास्थ्य सेवा उपयोगका लागी स्वास्थ्य बीमा कार्यक्रम ल्याए पनि व्यवस्थापनको अभावमा सेवाग्राहीले सेवा नपाउनु सरकारकै कमजोरी भएको उनिहरुले बताएका छन । सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको उनिहरुले गुनासो गर्ने गरेका छन् ।
महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमा वापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताए । बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन हामीले पनि औषधि खरिद गर्नुपर्छ उनले भने । अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्छ ।
उनले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको जानकारी गराए । उनले बीमा बोर्डले तोकेका ८० प्रकारका औषधि बाहेकका अन्य औषधि पनि माग हुने गरेका कारण सेवाग्राहीले सेवा नपाएको गुनासो गर्ने गरेको उनले जानकारी गराए ।