असोज २५ वीरगञ्ज । प्रहरीले २८ लाख ५६ हजार भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ गरेको छ । नुवाकोटका ४५ वर्षीया अनिता तामाङ, ४४ वर्षीया सरिता अग्रवाल तथा धादिङकी ३० वर्षीया मन्जु तामाङ पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । रक्सौल–वीरगञ्ज नाका हुँदै आउँदै गरेका उनीहरुलाई शनिबार बिहान वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । वीरगञ्ज–१६ रजतजयन्ती चोकमा नियमित सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए ।
उनीहरुले बोकेर ल्याएको झोला तथा शरीर खान तलासी गर्दा अनिताको साथबाट भारु २ हजार रुपैयाँ दरका नोट ५५ थान र ५ सय दरका ५ हजार ३ सय ८० वटा नोट गरी जम्मा २८ लाख बरामद भएको थियो । उनीसँगै आएकी मन्जुको साथबाट ५६ हजार रुपैयाँ बरामद भएको थियो ।
उनीहरुसँगै भारतबाट आएकी सरिताको पनि रकम ल्याउने कार्यमा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालमा प्रतिबन्धित दरका नोट ल्याएकाले पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बराममद गरिएको भारतीय रुपैयाँ सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुले भारतको मुम्बईमा सञ्चालन गर्दै आएको होटल बिक्री गरेको रकम बोकेर आएको दाबी गरेका छन् । नेपालमा भारतीय ५ सय र २ हजार दरका नोट प्रतिबन्धित छ । भारतीय रुपैयाँ १ सय वा सोभन्दा साना दरका मुद्रा मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ । भारत भ्रमण, अध्ययन, औषधोपचार र तीर्थयात्रा आदि लगायतका काममा जाँदा भारु नगद सटही माग भएमा २५ हजार भारुसम्म मात्रै नगद सटही हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


