चैत्र २६ बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ८ वटा निर्माण व्यावसायीलाई १५ दिने स्पष्टीकरण सोधेको छ ।
कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार विभिन्न सडक निर्माण तथा स्तरोन्नति आयोजनाका लागि सम्झौता गरेका निर्माण व्यावसायीहरूले सम्झौता अनुसार काम नगरेको, प्रगति सन्तोषजनक नरहेको तथा पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि सुधार नभएको पाइए पछि पूर्वाधार विकास कार्यालयले निर्माण व्यावसायीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।
यसअघि समयमै काम सम्पन्न गर्न पटक–पटक ताकेता गरिएको भमए पनि थपिएको म्याद भित्र पनि अपेक्षित प्रगति नभए पछि अन्तिम पटक १५ दिनको समय दिँदै चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न सूचना जारी गरी निर्देशन दिइएको हो ।
सूचनामा तोकिएको समय भित्र निर्माण व्यवसायीले सन्तोषजनक जवाफ नदिएमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
सूचनामा स्पष्टीकरण सोधिएका योजना मध्ये अछाम र बाजुरा जिल्लाका विभिन्न सडक स्तरोन्नति तथा निर्माण योजनाहरू रहेका छन् । जसमा घुघुरकोट–फडा–खप्तड–नैनी सडक, कर्णाली करिडोर अन्तर्गत माणिकान्दा–मालिका सडक, बाजुराको मार्तडी–कोल्टी–पिलुचौर सडक, सेरा–अटैचौर–थामलेख सडक लगायतका योजनाहरू समावेश रहेका छन् । बाजुराका मात्र ५ वटा सडकमा काम अलपत्र पारेका ठेकदार कम्पनी रहेको बताइएको छ ।


