चैत्र २६ बैतडी । बैतडीमा ६६ हजार २ सय ४७ जना बिमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हाल सम्म १६ हजार ४ सय ४१ परिवारका ६६ हजार २ सय ४७ जना बिमा कार्यक्रममा आबद्ध भएको जानकारी गराएका हुन । तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उनले जानकारी गराए ।
त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाहरूको बिमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा उपचार सेवा पाउने गरेको उनले बताए । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बिमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेको बिमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए ।
ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निशुल्क उपचार हुने गरेको उनले बताए । स्वास्थ्य बिमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्म परिवार भएका सदस्यलाई वार्षिक तीन हजार पाँच सय ‘प्रिमियम’ तिर्नुपर्ने र त्यसवाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको उनले बताए । पाँच जना भन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनु पर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने उनले बताए ।


