चैत्र २० काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि सांसद डीपी अर्याल निर्विरोध चयन भएका छन् । सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा उक्त अवधिमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । उनको औपचारिक घोषणा भने आइतबार प्रतिनिधिसभा बैठकबाट गरिने भएको छ ।
प्रतिनिधिसभा नियमावली अनुसार यदि सभामुख पदमा एक मात्र उम्मेदवार हुन्छ भने समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था रहेको छ । यो प्रक्रिया आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पूरा हुने बताईएको छ ।
प्रतिनिधिसभामा सत्तारूढ दल रास्वपाको स्पष्ट बहुमत रहेका कारण अन्य दलहरूले उम्मेदवारी दिएका थिएनन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १ सय ८२ सांसद छन् भने नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ जना सांसद रहेका छन् ।
सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने छ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान रहेको छ । एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलबाट पनि चयन हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।
उपसभामुख चयनबारे दलहरूबीच अहिलेसम्म औपचारिक छलफल भने सुरु भएको छैन । निर्वाचन पछि सभामुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने छन् भने उपसभामुखले सभामुखको उपस्थितिमा शपथ ग्रहण गर्ने व्यवस्था रहेको छ । सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख कुन दलबाट चयन हुन्छ भन्ने विषय राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।


