चैत्र १९ बैतडी । बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नम्बर–६ की स्थानीय इन्द्रा पोखरेल सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भएकी छिन ।
राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुष तथा महिलाको सहभागिता बढ्न थालेको अबश्थामा पोखरेल जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भएकी हुन ।
बैतडीको मेलौली नगरपालिका वडा नम्बर–६ की स्थानीय इन्द्रा पोखरेलले सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा समालेकी हुन । नगरपालिकाको शिक्षा शाखाले उनलाई प्राधानाध्यापकको जिम्मेवारी दिएको हो ।
शिक्षा संकायमा स्नातकोत्तर गरेकी इन्द्राले प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । गएको सात वर्ष देखि सोही विद्यालयमा कार्यरत रहेकी उनलाई नगरपालिकाले प्रधानाध्यापकको जिम्मेवारी थपेपछि स्थानीय अभिभावक खुशी भएका छन् ।
दलित महिला विद्यालयको नेतृत्व तहमा पुगे पछि खुसी लागेको स्थानीय चिन्तामणी भट्टले
बताए । पछिल्लो समय शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
तथ्याङ्क अनुसार बैतडी जिल्लामा ५ सय ३४ वटा सामुदायिक विद्यालय रहेकोमा ८४ जना महिला प्रधानाध्यापक रहेका छन् । जसमा नौ जना दलित महिला प्रधानाध्यापक रहेकी छिन । जिल्लाका सामुदायिक विद्यालय मध्ये १० वटा विद्यालयमा दलित पुरुष प्रधानाध्यापक रहेको बताइएको छ ।


