चैत्र १८ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुलेको छ । गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानी लगायतका माग राख्दै कार्यालयमा गरेको तालाबन्दी आठ दिन पछि खुलेको हो ।
बुधबार स्थानीय र वडा कार्यालयबीच सहमति भएपछि कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी गराईन । एक हप्तादेखि कार्यालय बन्द हुँदा सेवाग्राहीले समस्या भाग्नु परेको बताउदै उनले स्थानीयका जायज माग सम्बोधन भएपछि वडाको सेवा सुचारु भएको बताईन ।
कार्यालय बन्द हुँदा दैनिक आवश्यक सिफारिस, प्रमाणपत्र र जन्मदर्ता जस्ता सेवा पूर्ण रूपमा ठप्प भएकाले सेवाग्राहीले कठिनाइ भोगेको स्थानीय डबलबहादुर सिंहले बताए ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भइसकेको जानकारी गराउदै सडक निर्माण सम्बन्धी माग पालिकाले सम्बोधन गरी प्रक्रिया अघि बढाइरहेको बताए । सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गरिने उनले बताए ।


