चैत्र १८ बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर–३ का २६ वर्षीय नरेश कोलीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार आफन्तहरूले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पछि सोही वडाका २६ बर्षीय दिपक भट्ट र ३२ बर्षीय दिनेश टेलरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चैत ४ गते बिहान पाटन नगरपालिका वडा नम्बर–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा कोली मृत अवस्थामा भेटिएका थिए ।
अघिल्लो दिन किनमेलका लागि पाटन बजार गएका कोली राति अबेरसम्म घर नफर्किए पछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए । खोजतलासका क्रममा बिहान करिब ८ बजेतिर उनको शव भेटिएको थियो ।
घटनापछि आफन्तहरूले मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । मृतकका बुवा सेरि कोली भारतबाट फर्किए पछि घटनाको थप अनुसन्धान गर्न र नरेशसँग अन्तिम पटक देखिएका व्यक्तिहरू माथि समेत गहिरो छानबिन गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भानदेव बडूले पक्राउ गरिएका दुबै जनामाथि अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएका छन ।
घटना भएको दिन मृतक र पक्राउ गरिएका दुई जनाले पाटनको एक होटलमा सँगै मदिरा सेवन गरेको पाईएको बताउदै बडुले हाल पक्राउ गरिएका ब्याक्तिमाथि थप अनुसन्धान गरीरहेको जानकारी गराएका छन ।


