चैत्र १७ धनगढी । कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरूले संयुक्त आवाज उठाएका छन् ।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग गरेको छलफलमा सुदूरपश्चिम प्रदेशका सांसदहरूले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नतिका लागि संयुक्त आवाज उठाएका हुन ।
विश्वविद्यालयको स्तरोन्नतिका लागि २ अरब ६० करोडको बजेट आवश्यक पर्ने भएकाले त्यसको सुनिश्चितताका लागि सुदूरपश्चिम प्रदेशका सबै सांसदले संयुक्त आवाज उठाएको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि तत्काल गर्नुपर्ने काम भएकाले त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएको उनले जानकारी गराए । छलफल अघि बालेनले आगामी आर्थिक वर्षमा बजेटको आकारलाई हेरेर तत्काल समाधान गर्न सकिने कुरा राख्न आग्रह गरेको उनले बताए ।
सोही अनुसार आफूहरूले प्रधानमन्त्री समक्ष कुरा राखेको सांसद कोइरालाले बताए । उनले जेनजी आन्दोलन पछि क्याबिनेटको डिसिजनबाट रोकिएका केही जरुरी परियोजनाहरूलाई फुकुवा गर्न कुरा राखेको बताउदै उनले आफ्नो क्षेत्र शिविरै शिविर भएको क्षेत्र भएका कारण शिविरका जनताको स्तरोन्नतिका लागि बास स्थल सुधारका लागि आवाज उठाएको बताए ।
त्यसैगरी धनगढी दिपायल फास्ट ट्र्याकका सम्बन्धमा, अन्य सडक, नेटवर्कको समस्या लगायतका कुरा समग्रमा राखेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा समग्र समस्याका विषयमा एकरूपता देखिनु सुदूरपश्चिम प्रदेशको समृद्धिको सङ्केतका रूपमा लिएको उनले बताए ।


