चैत्र १५ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२,अत्तरियामा रहेको सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक संस्था श्री सु.प. समावेशी आधारभूत विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
आईतबार शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्दै आएको सु.प. समावेशी आधारभूत विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णा देवी बोहराको सभापतित्वमा सम्पन्न भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथि प्रकाश बम रहेका थिए भने सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा, नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा.हेमराज पन्त विशिष्ट अतिथी रहेका थिए ।
विद्याकी देवी सरस्वतीको पूजा–आराधनाबाट सुरु गरिएको कार्यक्रमलाई विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले सञ्चालन गरेका थिए । प्रधानाध्यापक देवी साउँदले स्वागत मन्तव्य सहित विद्यालयको प्रगति विवरण प्रस्तुत गरेकी थिईन ।
वि.सं. २०६७ सालमा १० जना विद्यार्थीबाट सुरु गरिएको विद्यालयमा हाल सुदूरपश्चिमका ९ वटा जिल्लासंगै हुम्ला, जुम्ला र दाङबाट आएका ४७ जना छात्र र ३४ छात्रा गरी ८१ जना शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाले कक्षा ८ सम्म आवासीय शिक्षा लिइरहेका छन् ।
कम्मरमुनि नचल्ने, मस्कुलर डिस्ट्रोफी, स्पाइनल इन्जुरी लगायत जटिल अवस्थाका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउँदै विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
विद्यालयले भोगिरहेका चुनौतीहरू पनि रहेका छन । विद्यालयको आफ्नै नाममा जग्गा नहुनु, पूर्ण रूपमा अपाङ्गतामैत्री संरचना अभाव, दक्ष जनशक्तिको कमी, विद्यार्थीको अनुपात अनुसार शिक्षक दरबन्दी नहुनु, आर्थिक स्रोत अभाव तथा सूचना प्रविधि व्यवस्थापनमा कठिनाइ जस्ता समस्या प्रमुख रूपमा देखिएका छन् ।
विद्यार्थी आवागमनका लागि भ्यान तथा इ–रिक्साको समेत आवश्यकता रहेको छ । भौगोलिक विकटता, गरिबी, रुढीवादी सोच, लैंगिक विभेद र अपाङ्गता प्रतिको नकारात्मक सामाजिक दृष्टिकोणले अझै पनि बालबालिकाको शिक्षाको पहुँचमा बाधा पु¥याइरहेको विद्यालयले जनाएको छ ।
कतिपय परिवारमा अपाङ्गता भएका बालबालिकालाई घरमै सीमित राख्ने प्रवृत्ति अझै विद्यमान रहेको बताइएको छ । प्रधानाध्यापक देवी साउँदले “आत्मविश्वासको कमी, सहयोगी सामाग्रीको अभाव र सामाजिक सोचका कारण अपाङ्गता भएका बालबालिकाको शिक्षामा चुनौती थपिएको बताईन ।
विद्यालयले आगामी दिनमा समावेशी शिक्षालाई थप प्रभावकारी बनाउँदै सिपमूलक तथा व्यावसायिक तालिम मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताईन ।
पोषण सुधारका लागि करेसाबारी, कुखुरा पालन तथा माछा पालन कार्यक्रम सञ्चालन गर्ने, पाँच वर्षे रणनीतिक योजना निर्माण गर्ने र आवश्यक पूर्वाधार विकास गर्ने योजना अघि सारिएको उनले बताईन । कार्यक्रममा शैक्षिक सत्रभरी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
उपस्थित अतिथिहरूले विद्यालयले गर्दे आएको प्रयासको प्रशंसा गर्दै यसको दिगो विकासका लागि राज्य र समुदायको सहकार्य आवश्यक रहेको बताएका थिए । समावेशी शिक्षा मार्फत समान अवसर सुनिश्चित गर्ने लक्ष्य सहित अघि बढिरहेको विद्यालयले चुनौतीका बाबजुद पनि आशाको उज्यालो फैलाइरहेको प्रधानाध्यापक साउँदले बताईन ।
कार्यक्रममा मेडल सत्यावती एकेडेमी अत्तरियाले सहयोग गरेका
थिए । टेन्ट बिनोद मल्ल, कार्याक्रममा खाजाको सहयोग डा. हेमराज पन्तले गरेका थिए । पुस्कारको लागि पुस्तक सहयोग नेपाल कपी उधोग अत्तरियाले गरेका थिए । कार्याक्रम संचालन मानबहादुर साउँदले गरेका थिए ।


