चैत्र १४ धनगढी । जिल्ला सुरक्षा समिति कैलालीको संयुक्त सुरक्षा बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको बैठकले जिल्लाको शान्ति सुरक्षाको समग्र अवस्थाबारे समीक्षा गर्नुका साथै उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्यालको उपस्थिति रहेको थियो भने सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी किरण केसी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका निर्देशक किशोर कुमार श्रेष्ठ लगायत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको सहभागिता रहेको बताईएको छ ।
बैठकले हाल कैलाली जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ । देशको पछिल्लो बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिलाई दृष्टिगत गर्दै सम्भावित चुनौतीहरूको सामना गर्न सुरक्षा संयन्त्रलाई थप सक्रिय, समन्वयात्मक र सतर्क बनाउने निर्णय गरिएको बताइृएको छ ।
विशेषगरी सम्भावित विरोध प्रदर्शन, जुलुस तथा विभिन्न राजनीतिक गतिविधिहरूले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले त्यस्ता गतिविधिहरू माथि निगरानी बढाउने, आवश्यक स्थानहरूमा सुरक्षा उपस्थिति सुदृढ गर्ने तथा समयमै सूचना आदान प्रदान गर्ने विषयमा जोड दिइएको छ ।
बैठकले सबै सुरक्षा निकायहरूबीच आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउँदै उच्च सतर्कताका साथ परिचालन हुने निर्णय समेत गरेको छ ।
त्यसैगरी, पूर्वप्रधान मन्त्री तथा गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो घटनाक्रमका कारण उत्पन्न हुन सक्ने संवेदनशील अवस्थालाई ध्यानमा राख्दै जिल्लाका मुख्य चोक, बजार क्षेत्र, सरकारी कार्यालय, सीमा नाका तथा अन्य संवेदनशील स्थानहरूमा निगरानी बढाउने, चेकजाँच कडाइ गर्ने र आवश्यक सुरक्षा रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
बैठकमा सहभागी अधिकारीहरूले शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणमा आग्रह गरेका छन् ।
साथै, अफवाह र भ्रामक सूचनाबाट सचेत रहन तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरिएको छ । बैठकले जिल्लामा शान्ति सुरक्षा अवस्था सामान्य रहे पनि संभावित जोखिमलाई समयमै व्यवस्थापन गर्न पूर्वतयारी स्वरूप सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउने निर्णय गरेको जानकारी गराईएको छ ।


