चैत्र ०९ काठमाण्डौ । वीरगञ्ज स्थित नारायणी रंगशालामा सम्पन्न पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णालीलाई १ सय १९ रनमा रोक्दै विजयी सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सकेको हो ।
बिपिन रावलले सर्वाधिक ३३ र सुनिल धमलाले २८ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ७ ओभरमा मात्र १६ रन खर्च गर्दै ६ विकेट लिएर विपक्षी ब्याटिङ लाइन तहसनहस बनाएका थिए । शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १–१ विकेट हात पारेका थिए ।
जव सुदूरपश्चिमले निर्धारित लक्ष्य १ सय २० रनमा २९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाए भने खडक बोहराले २३, मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे । कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २–२ विकेट लिए भने प्रकाश जैशी र दिपेन्द्र रावतले १–१ विकेट हात पारे । हेमन्तको बलिङ प्रदर्शनले टोलीलाई सहज जीत दिलाएको विश्वास गरिएको छ ।


