चैत्र ०५ धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८, चुरे फेदीस्थित धारापानी बस्तीका स्थानीय बासिन्दा परम्परागत बाख्रा पालन गरी आत्मनिर्भर बन्दै गएका छन । बाख्रापालनलाई मुख्य पेशा बनाएर घरायसी खर्च धान्दै आएका धारापानी बस्तीका स्थानीय बासिन्दा बाख्रा पालन गरी आत्मनिर्भर बन्दै गएका हुन ।
कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण स्थानीय बासिन्दा बाख्रापालनमै आश्रित भएका कारण यनीहरु बाख्रा पालनमा आत्मनिर्भर बन्दै गएका हुन । स्थानीय साइमले धामीले धेरैजसो परिवारले बाख्रा पालनबाटै जीविका चलाइरहेको बताउदै हाल आफुले पनि ४० वटा बाख्रा पाल्दै आएको बताए ।
वर्षमा छ देखि १० वटा सम्म खसी बिक्री गर्दै आएको बताउदै उनले खसी बेचेर आएको पैसाले घरको नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गरेको बताए । जिउँदो खसी प्रतिकिलो ५ सयका दरले बिक्री हुने गरेको बताउदै उनले धारापानी बस्ती खोला नजिकै रहेकाले अधिक बलौटे र ढुङ्गे माटोका कारण उब्जनी राम्रो नहुने बताए ।
त्यसमाथि बाँदरले अन्नबाली सखाप पार्ने समस्या भमएको बताउदै उनले अन्नबाली लगाउँदा बाँदरले नोक्सान गरिदिने गरेको बताए । त्यसैले बाख्रापालन एक मात्र भरपर्दो आम्दानीको स्रोत बनेको बताउदै धामीले बाख्रापालनबाट वार्षिक ५० हजार देखि एक लाख सम्म आम्दानी हुने गरेको बताए । त्यो रकमले घरधन्दा चलाउन मात्र ठिक्क हुने गरेको बताउदै उनले वन क्षेत्र प्रशस्त भएकाले बाख्रा चराउन समस्या नभएको बताए ।
स्थानीय बालाराम गौतमले २४ वटा बाख्रा पालिरहेको बताउदै बाख्रापालन आम्दानीको मुख्य स्रोत भए पनि त्यसको व्यवसायीकरणमा भने समस्या रहेको बताए । बाख्रा बिरामी भए उपचार नपाइँने बताउदै उनले कतिपय अवस्थामा उपचार नपाएर खोर रित्तो हुने गरेको बताए । परम्परागत तरिकाले गोठमा राखेर बाख्रापालन गर्दै आएको बताउदै उनले उन्नत जातका बाख्रापालन गरे उत्पादन र आम्दानी दुवै बढ्ने सुनिए पनि त्यस अनुसार गर्न नसकेको उनले बताए ।
आवश्यक ज्ञान, सीप र लगानी भए बाख्रापालनलाई गुजारामुखी भन्दा पनि बलियो आम्दानीको स्रोत बनाउन सकिने गौतमल बताए । आफुसंग खरी जातका बाख्रा भमएकोब ताउदै उनले तौल कम हुने भएकाले मूल्य पनि कम पाइने बताए । दुई दशक भन्दा बढी समय देखि बाख्रापालन गर्दै आए पनि आधुनिक प्रविधि र तालिमको अभावले अपेक्षित प्रगति गर्न नसकिएको उनले बताए ।
सरकारबाट तालिम र अनुदानको व्यवस्था भए धेरै सहज हुने उनले बताए । बस्तीका अन्य किसानहरूले पनि यस्तै समस्याबाट जुझिरहेको उनले बताए । साइमले र बालाराम जस्तै सुरेन्द्र महराले ४०, मूल्याल साहुले ३५ र मोहन महराले १७ वटा बाख्रापालन गर्दै आएको उनले जानकारी गराए । सबैको जीविका यसै व्यवसायमा निर्भर रहेको बताउदै उनले चितुवाको आक्रमणले किसानहरू थप समस्यामा परेको बताए ।
दैनिक जसो चितुवाले बाख्रा मार्ने गरेको बताउदै सुरेन्द्र महराले वनमा चराउन पठाएका बाख्रा मध्ये दिनमै दुईदेखि चार वटा सम्म चितुवाले मारेर खाने गरेको बताए । “चितुवाले बाख्रा नखाएको दिन नभएको बताउदै उनले रातदिन भोक–निन्द्रा नभनि बाख्राको स्याहार सुसारमा लागेको बताउदै चितुवाले यसरी नोक्सान गर्दा निकै पीडा भएको बताए । यस्तो समस्याका कारण बाख्रापालन व्यवसाय विस्तार गर्न समेत कठिन भएको महराले बताए ।
त्यसैगरी स्थानीय मोहन महराले वन क्षेत्र नजिकै भएकाले चितुवाको जोखिम उच्च रहेको बताए । बाख्रा चराउन पठाउँदा सुरक्षा व्यवस्था नहुँदा किसान सधैँ त्रासमा बस्न बाध्य भएको बताउदै उनले पशु स्वास्थ्य सेवा, तालिम, उन्नत जातका बाख्रा, गोठ सुधार र बिमा जस्ता सुविधाको अभावले पछाडि परेको बताए ।
सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए बाख्रापालन व्यवसायलाई व्यवस्थित र लाभदायक बनाउन सकिने उनले बताए । धारापानी बस्तीका बासिन्दाले बाख्रापालनलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पशु उपचार सेवा विस्तार, तालिमको व्यवस्था, अनुदान कार्यक्रम र वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।


