फागुन ३० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को वडा कार्यालयले कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरेको छ । शनिबार वडा कार्यालयले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर वितरण गरेको हो । कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा समय र लागत दुवै घटाउने लक्ष्यका साथ किसानलाई मिनी टिलर वितरण गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए ।
किसानलाई कृषिमा यान्त्रीकरण तर्फ आकर्षित गर्न वडा कार्यालयले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको उनले बताए ।“वडाबाट नौ लाख बजेट मिनी टिलर अनुदान कार्यक्रमका लागि विनियोजन गरिएको बताउदै उनले त्यही बजेट मार्फत ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिएको जानकारी गराए । एक वटा मिनी पावर टिलरको बजार मूल्य ५६ हजार दुई सय ५० पर्ने बताउदै उनले उक्त रकमको आधा अर्थात् २८ हजार वडाले अनुदान स्वरूप व्यहोरेको बताए । बाँकी २८ हजार किसान स्वयंले लगानी गरेको उनले बताए ।
व्यवसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यवसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनौट गरी मिनी टिलर वितरण गरेको जानकारी गराउदै उनले खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएमा किसानको श्रम र लागत दुवै कम हुने बताउदै “मिनी टिलरले खेत जोत्न, माटो पल्टाउन तथा रोपाइँ अघिको तयारी गर्न सहज हुने बताए ।
किसानको समय बचत हुनुका साथै उत्पादन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउने उनले बताए । मिनी टिलर वितरणसँगै किसानलाई यसको प्रयोग र मर्मत सम्बन्धी प्राविधिक जानकारी समेत दिइएको उनले बताए । किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले खेत जोत्नु अघि अपनाउनु पर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिए पछि गर्नुपर्ने मर्मत सम्बन्धी जानकारी प्रदान गरिएको उनले बताए ।
मिनी टिलर प्राप्त गर्ने किसान बुद्धिबहादुर चौधरीले यसले खेतीपातीको कामलाई धेरै सहज बनाउने बताए । यसअघि गोरु प्रयोग गरेर खेत जोत्नुपर्दा निकै समय र मेहनत लाग्ने गरेको उनले बताए । पहिला गोरुले खेत जोत्न निकै समय लाग्थ्यो,” अब मिनी टिलर प्रयोग गरेपछि छिटो र सहज रूपमा खेत जोत्न सकिने भएको छ उनले भने ।” मिनी टिलरले खेत जोत्न मात्र नभई रोपाइँका लागि खेत तयार पार्न पनि सहयोग पुर्याउने उनले बताए ।
समयमै खेत जोत्न सकिने भएकाले बाली लगाउने समय व्यवस्थापन गर्न पनि सहज हुने किसानहरूले बताएका छन । कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको नगरपालिकाको कृषि शाखाका अधिकृत विनयराज जोशीले बताए । यसबाट खेतीपातीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने तर्फ सकारात्मक प्रभाव पर्ने उनले बताए ।


