फागुन ३० धनगढी । कैलालीको धनगढीमा किङ्ग हिल्स गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । पत्रकार हर्कसिंह प्रपाला र केशवसिंह विकले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् ।
लामो समय पत्रकारिता गर्दै आएका प्रपाला एभिन्युज टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख हुन् । उद्योगको शनिबार कैलाली उदोग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले उद्घाटन गरेका छन् ।
उद्योगको उद्घाटन गर्दै अध्यक्ष ओझाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका छन । पछिल्लो समयमा यस्ता खालका उद्योगहरु सञ्चालनमा आउनु राम्रो कुरा भएको उनले बताए ।
यस्ता खालका उद्योगले रोजगारीको समेत सिर्जना गर्ने उनले बताए । सञ्चालक प्रपालाले ४० लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको बताए । २५ जनालाई प्रत्यक्ष रोजगारी दिइएको जानकारी गराउदै उनले देशको पछिल्लो संक्रमणकालीन अवस्थामा विभिन्न समस्यका बाबजुद काम गर्ने जमर्को गरेको बताए ।
विद्यालयलाई लक्षित गरेर उद्योग सञ्चालनमा ल्याएको बताउदै उनले विभिन्न निजी तथा सरकारी विद्यालयका पोशाक उत्पादन गर्ने बताए । ‘नेपाली राष्ट्रिय पोशाक, कोट,पाइन्ट पनि तयार गर्ने बताउदै उनले गुणस्तरीय सेवा दिनुकासाथै उच्च स्तरको कपडाहरु उपलब्ध गराईने बताए ।



