फागुन २८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ फुलेलीमा आरन ब्यावसाय सञ्चालन गर्दै आएका ५६ वर्षीय शङ्कर लुहार दम्पतीले परम्परागत आरनको भरमा परिवारको जीविका चलाउँदै आएका छन । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय लुहारले परम्परागत आरन पेशाको भरमा परिवारको जीविका चलाउँदै आएका हुन । फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्ने गरेका छन ।
जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवार सहित कञ्चनपुर झरेका लुहारले तराईमा आएपछि पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीप आरनलाई जीवनयापनको आधार बनाएका हुन । फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आएका उनले घरकै छेउमा सानो आरन सञ्चालन गरेर विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आएका छन् ।
उनले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्ने गरेका छन । किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथी लगायतका कृषि औजार उनदले बनाउने गरेका छन । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडी लगायतका सामान पनि उनले आरनमै तयार गर्ने गरेका छन । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उनले बिक्री गर्ने गरेका छन ।
शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँने गरेको स्मरण गर्दे उनले पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेशा सङ्कटमा परेको बताए । “पहाडमा बस्दा आफुले बनाएका सामान सजिलै बिक्री हुने गरेको विगत सम्झँदै उनले आफुले बनाउने सामान बलियो र टिकाउ हुने भए पनि बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थालेको बताए ।
पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उनले जीविकोपार्जनको खोजीमा तराई झर्नु परेको बताए । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि वास्तविकता भने फरक देखिएको उनले बताए । तराईमा बजार ठूलो भमए पनि कारखानामा बनेका सस्ता सामान धेरै पाइने भएकाले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्ने र लागत पनि बढी लाग्ने भएकाले बजार पाउन समस्या भएको उनले बताए ।
आरनको काममा निकै मेहनेत गर्नु पर्ने बताउदै उनले फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्ने बताए । त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाईने हुँदा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्ने उनले बताए । सामान तयार भएपछि श्रीमतीसँगै सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्ने गरेको उनले बताए । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जाने गरेको बताउदै उनले आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर महिनामा १० हजार देखि ३० हजार सम्म आम्दानी गर्ने गरेको बताए ।
आम्दानी स्थिर नहुने बताउदै उनले ग्राहक कम हुँदा आम्दानी निकै घट्ने बताए । “कहिलेकाहीँ ग्राहकले सामान नकिन्ने बताउदै उनले त्यस्तो बेला थोरै कमाई हुने बताए । यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको बताउदै उनले बालबालिका र जहान पाल्ने गरेको बताए । आफ्नो काममा श्रीमती किर्रा लुहारले साथ दिँदै आएको बताउदै उनले सामान तयार भएपछि दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्ने गरेको बताए ।
कतिपय ठाउँमा सामान नगदमा बिक्री हुने भए पनि कतिपय ठाउँमा अझै पनि अन्न संग साटासाट गर्ने गरिएको उनले बताए । कही नगद पाइने बताउदै उनले कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिने गरेको बताए । पाँच छोरा र दुई छोरी रहेको बताउदै उनले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गरेको बताए । परिवारको अधिकांश खर्च यही पेशाबाट आएको आम्दानीले धानिएको बताउदै उनले पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि एक छोरा रोजगारीका लागि भारत गएको बताए ।
आरन पेशामा मेहनत धेरै र कमाई कम हुने बताउदै उनले नयाँ पुस्ताले आरन पेशा अगाल्न नमानेको बताए । सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न सहज हुने बताउदै उनले मेसिन भए काम छिटो हुने र श्रम कम हुने भएकाले लागत घट्ने र बजारसँग प्रतिस्पर्धा गर्न सकिने बताए । अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेशा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको उनले गुनासो गरे । आफ्नै पौरखले कमाएर खानेलाई कसैले नहेर्ने बताउदै उनले सीपलाई जोगाउन सरकारले सहयोग गर्नसके राम्रो हुने बताए ।
अहिलेको नयाँ पुस्ताले परम्परागत पेशा छोडेर अन्य रोजगारी खोज्न थालेको बताउदै उनले कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेको बताए । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा सदस्य लालबहादुर महराले वडामा आरन सुधारका काम भइरहेको बताए । शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाउने उनले बताए ।
“वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउदै महराले लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गर्ने बताए । परम्परागत सीप र श्रममा आधारित आरन पेशा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवालाले बताएका छन ।


