फागुन १९ कञ्चनपुर । जीर्ण अवस्थामा रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ कलुवापुरस्थित रामजानकी मन्दिर चन्दा उठाएर मर्मत गरिएको छ । श्रद्धालुहरूको चन्दा सहयोगले रामजानकी मन्दिरको मर्मत गरीएको हो ।
पुरानो पर्खाल भत्काएर नयाँ बनाई त्यसमा स्टिलको रेलिङ राखिएको छ भने मन्दिरको मुख्य गेट नयाँ ‘डिजाइन’मा पुनर्निर्माण गरिएको छ । मुख्य गेटदेखि मन्दिर सम्मको बाटो ढलान गरी भक्तजनको आवागमनलाई सहज बनाएको रामजानकी धाम तथा पर्यटकीय विकास समितिका अध्यक्ष प्रकाशसिंह ऐरले बताए ।
मन्दिरको शोभा बढाउन चारैतिर हरियाली र रङ्गीन फूलहरूले सजिएको बगैँचा निर्माण गरेको बताउदै उनले मन्दिर परिसरमा भक्तजन बस्नका लागि चौतारो पनि बनाएका जानकारी गराए । सबै कार्य स्वदेश र विदेशमा बस्ने भक्तजनहरूको सहयोगले सम्भव भएको बताउदै उनले करिब पाँच दशक अघि स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरेको मन्दिर पछिल्ला वर्षहरूमा जीर्ण अवस्थामा पुगेको बताए ।
मन्दिरको वर्षौँ पहिले ढलान गरिएको छतको ठाउँठाउँबाट प्लास्टर उप्किएको बताउदै उनले छाना चुहिने गरेको अबश्थामा सबै मर्मत गरी रङरोगन गरेर मन्दिरलाई पुरानै स्वरुपमा फर्काएको बताए । अध्यक्ष ऐरले मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनले पाँच लाख सहयोग गरेको जानकारी गराउदै स्वदेश र विदेशमा बस्ने चन्दादाताबाट दुई लाख भन्दा बढी रकम सङ्कलन भएको बताए ।
मन्दिरमा विवाह गर्ने जोडीहरूबाट लिइने शुल्कबाफत सङ्कलित ४५ हजार पनि पुनर्निर्माणमा प्रयोग गरिएको उनले जानकारी गराए । सबैको सहयोगले मन्दिरलाई पुरानै स्वरुपमा फर्काउन सकेको बताउदै उनले मन्दिर परिसरमा यस अघि संसदीय विकास कोष मार्फत १० लाखमा यज्ञशाला र शौचालय निर्माण गरिएको बताए । मन्दिरमा अहिले विवाह, व्रतबन्ध, पूजापाठ, रामनवमी र धार्मिक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको उनले जानकारी गराए ।
रामनवमीका अवसरमा भक्तजनको घुइँचो लाग्ने गरेको बताउदै उनले मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग सहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाहमण्डप, गोरखनाथ र शिवपार्वती मन्दिर समेत रहेको जानकारी गराए ।
अध्यक्ष ऐरले केही सामान उधारोमा खरिद गरिएको बताउदै बाँकी ऋण तिर्न मुठ्ठीदान अभियान सुरु गर्ने तयारी गरिएको बताए । मुठ्ठिदानबाट बचेको रकमले विद्युत् वायरिङ र मन्दिरका अन्य संरचना सुधारमा खर्च गरिने योजना रहेको उनले बताए ।
स्थानीय समाजसेवी चन्द्रबहादुर ऐरले भन्नुभयो, “मन्दिरको सुधारपछि अब मन्दिर हेर्दा मन लोभ्याउँछ, चारैतिर फूलबारी, नयाँ रेलिङ र उज्यालो बत्तीले सुन्दरता झन् बढेको छ ।” उहाँका अनुसार मन्दिर क्षेत्रको जग्गा जोगाउनका लागि पर्खाल आवश्यक रहेको छ ।
त्यसका लागि सबैको सहयोगको आवश्यकता रहेको छ । यो हाम्रो धार्मिक सम्पदा हो, यसलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो देखाउनुपर्छ । रामजानकी मन्दिरको पुनर्निर्माणसँगै कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ । साँझपख मन्दिर र त्यसको परिसरमा झिलमिल बत्ती र फूलबारीको सौन्दर्यताले भरिएको मन्दिर परिसर अहिले भक्तजनमात्र होइन । आन्तरिक पर्यटकका लागि पनि लोभलाग्दो गन्तव्य बनेको छ ।


