फागुन १८ धनगढी । कैलालीको अत्तरिया बजारमा होलीको रौनक छाएको छ । सोमबार पहाडी जिल्लाहरूको होली पर्व भए पनि अत्तरियामा होलीको रौनक छाएको हो । अत्तरीयामा विभिन्न समूहमा होली खेल्न सुरु भइसकेको छ ।
अत्तरिया बजारका सडक किनारामा पनि होलीका सामानले रङ्गीचङ्गी बनेका छन् । सोमबार अत्तरिया बजारमा ठुलो समूहमा मौलिक होली गीत र बाजा सहित अत्तरिया पतञ्जलि योग समुहले पनि होली खेलेको छ । बजार क्षेत्रमा अन्य समुहले पनि होली खेल्दा बजार क्षेत्रमा रौनक बढेको छ ।
विशेष गरेर फागुपूर्णिमा अर्थात् होली पर्व आज पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदै छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेला देखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मंगलवार होली मनाइँदै छ । तराइका जिल्लामा मंगलवार नै सरकारले सार्वजनिक बिदा दिएको छ ।


