फागुन ०५ धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–८ बाट रोजगारीका लागि परदेशमा रहेका युवाहरूले सहयोग गरेको दुईवटा पार्थिव शरिर राख्ने मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण हस्तान्तरण गरिएको छ । कर्णाली नदीको बाढीबाट प्रभावित हुने वडा नम्बर–८ का रोजगारीका लागि विदेशमा रहेका युवाहरूले सहयोग गरेको दुईवटा पार्थिव शरिर राख्ने मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।
घरमा कसैको मृत्यु भएमा दाह संस्कार गर्ने युवा परदेशबाट आउन समय लाग्ने भएकाले त्यतिन्जेल सम्म लास कुरेर बस्दा समस्या भोग्दै आएका नागरिक मर्चरी च्याम्बर पाएपछि खुशी भएका छन । स्थानीय समाजसेवी पदमराज जोशीले मानिस मरेपछि एकातिर परिवारको रोदन, अर्कोतिर लास कुर्दै आइस खोज्नु पर्ने जस्ता समस्याबाट मुक्त भएको बताए । अर्का स्थानीय टीकाराम चौधरीले मानिस वितेपछि कुर्नुपर्दा खाल्डो खनेर केराका थामहरू बिछाएर माथिबाट आइसका डल्ला राखेर लास सडनबाट जोगाउने गरेको बताउदै अब सहज भएको बताए ।
प्रवासी युवा दिपक विकले स्थानीय युवाहरूले सहयोग जुटाएर दुईवटा मर्चरी च्याम्बर, एकथान डिस्प्ले बोर्ड र एक थान प्रोजेक्टर खरिद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको बताउदै सबैले सहज रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्न सुझाव दिए । साथै धनसिंहपुरका १५ जना विपन्न परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दाल तेल लगायतका खाद्यान्न सामग्री पनि वितरण गरिएको छ ।
स्वास्थ्य चौकीका अध्यक्ष दीर्घबहादुर ठकुल्लाले रोजगारीका लागि विदेशिएर पनि आफू जन्मेको माटो र घरलाई सम्झेर सहयोग गर्ने युवाहरु र तिनका परिवारलाई धन्यवाद दिए । यी सामग्रीले टीकापुर नगरपालिका र छिमेकी पालिकालाई समेत सहयोग पुग्ने ठकुल्लाले बताए । च्याम्बर विद्युत सेवा भएको घरैमा लगेर लास सुरक्षित रुपमा राख्न सकिने उनले बताए ।
४४ जना परदेशी युवाहरूबाट सङ्कलन भएको चार लाख २५ हजार रूपैयाँबाट सामानहरु खरिद गरिएको बताउदै उनले १९ हजार रुपैयाँ बचत रहेको उनले बताए । कार्यक्रममा आर्थिक सहयोग गर्ने युवा तथा तिनका परिवारलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
विभिन्न देशमा बसोबास गर्ने युवाले पाँच वर्ष अघि स्थापना गरेको धनसिहपुर प्रवासी युवा समितिले २०७८ सालमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । टीकापुर अस्पतालबाट १६ किलोमिटर टाढाको धनसिंहपुर स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सबाट हालसम्म ४ सय ६८ जनाले सेवा लिइसकेको स्वास्थ्य चौकी प्रमुख यमबहादुर शाहले जानकारी गराएका छन ।


