फागुन ०२ दार्चुला । सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा को जिम्मा नेपाली सेनाले लिऐको छ । बिहीबार देखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको छ ।
सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रि परिषद्को निर्णय अनुसार कारागारमा नेपाली सेना खटिएको हो ।
सोही निर्णय अनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी गराए । उनका अनुसार सरकारको निर्देशन अनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो ।


