माघ १९ कञ्चनपुर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिना पछि शुक्रबार बिहान बेदकोट नगरपालिका वडा नम्बर–८ मा रहेको आफ्नो पुर्खौली घरमा पुगेका छन ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले जलाएको आफ्नो पुर्खौली घरमा पूर्वगृहमन्त्री रमेश लेखक पुगेका हुन ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका नेपाली कांग्रेसका नेता लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।
काठमाडौँको नैकापमा रहेको घर र बेदकोट नगरपालीका वडा नम्बर–८ स्थित उनको पुर्खौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । हाल महेन्द्रनगर स्थित बजार क्षेत्रमा रहेको घर मर्मत गरी उनले त्यहीँ बसोबास गरिरहेका छन् ।
पुर्खौली घर पुगेपछि लेखकले पहिलो पटक स्थानीयवासीसँग भेटघाट गरेका छन । भेटघाटका क्रममा स्थानीयले गाउँमा भइरहेको सडक पूर्वाधार लगायत विकासका विषयमा जानकारी गराएका छन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७९ सालको निर्वाचन जितेर गृहमन्त्री बनेका लेखक यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।
नेपाली कांग्रेसले यसपटक डडेल्धुरामा पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट नदिए पछि पार्टीले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । नेता लेखकले पार्टी उम्मेदवारको पक्षमा चुनावी भेटघाट गरीरहेका छन ।


