माघ १५ धनगढी । त्रिभुवन माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विहीबारवि.सं. २०१७ सालमा स्थापित त्रिभुवन माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिती शिक्षा विकास तथा समन्वय इकाइ धनगढी, कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले गुणस्तरीय शिक्षाका लागी सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनले विद्यालय र अभिभावको योगदानले विद्यालयलाई राम्रो बनाउन सकिने बताउदै सबैले सक्रिय भूमीका निर्बाह गर्न आवश्यक भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापती शिवनारायण रानाले स्वर्गीय हरिचन्द्र रानाले जग्गा दान गरी शिक्षाप्रेमी र समाजसेवीहरूको सक्रियतामा स्थापना भएको विद्यालय सुरुमा प्राथमिक तहबाट सञ्चालनमा आएको जानकारी गराउदै २०४७ सालमा निम्न माध्यमिक, २०५० सालमा माध्यमिक तथा २०६६ साल देखि कक्षा ११ र १२ को पठन पाठन सुरु गरिएको बताए ।
हाल विद्यालयमा बालविकास देखि कक्षा १२ कक्षा सम्म अध्ययन अध्यापन भइरहेको उनले जानकारी गराए । त्यसैगरी २०७४ साल देखि अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको जानकारी गराउदै उनले २०८१ साल देखि कक्षा १० सम्म अंग्रेजी माध्यम सञ्चालन गरिएको जानकारी गराए ।
जसले गर्दा आर्थिक रूपमा विपन्न तथा मध्यम वर्गीय समुदायका विद्यार्थीहरूले आफ्नै घर आँगनमै कक्षा १२ सम्म अध्ययन गर्ने अवसर पाएको उनले बताए । हाल विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी अध्ययनरत रहेको बताउदै उनले ४० जना शिक्षक र ८ जना कर्मचारी कार्यरत रहेको बताए । विद्यालयले कक्षा ८, एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद छात्रवृत्ति तथा सम्मानको व्यवस्था गर्दै आएको उनले बताए ।
गरिब, जेहेन्दार तथा खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई समेत छात्रवृत्ति प्रदान गरिँदै आएको उनले बताए । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्मार्ट कक्षा सञ्चालन, भवन मर्मत तथा रंगरोगन, दुई कोठे र आठ कोठे भवन निर्माण, स्मार्ट शौचालय निर्माण लगायतका कार्यहरू गरिएको उनले बताए ।
भारतीय दूतावासको सहयोगमा विद्यालयलाई विद्यार्थीवाहन बस समेत प्राप्त भएको जानकारी गराए । त्यसैग री निजी स्रोतबाट विद्यालय सञ्चालन, शिक्षक सरुवा, अभिभावक सहभागिताको अभाव, घेरबार, क्यान्टिन, साइकल स्ट्यान्ड तथा प्रयोगशाला कर्मचारीको अभाव जस्ता चुनौतीहरू अझै कायम रहेको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक, दाताहरू, पूर्व तथा वर्तमान व्यवस्थापन समिति, शिक्षक, अभिभावक र शुभेच्छुकहरू प्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइएको थियो ।
त्यसैगरी कार्यक्रम्मा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ निवासी समाजसेवी तथा विद्यालय भवन तथा मन्दिर निर्माता फौदार लालबहादुर साउँद, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती, राष्ट्रिय परीक्षा बोर्ड धनगढी, कैलालीका कार्यालय प्रमुख श्री महेन्द्र पाण्डेय तथा धनगढी उपमहानगरपालिका वडा नम्अबर ३ का वडाध्यक्ष राजबहादुर ऐर अतिथिका रूपमा सहभागी भएका थिए ।



