माघ १४ बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–६,पाँडीका ८१ वर्षीय नरजित रावललाई देशकै उत्कृष्ट मौरीपालकका रूपमा सम्मान गरिएको छ । १३ वर्षको उमेरदेखि गाउँमा मौरीपालन गर्दै आएका रावललाई गोदावरी कालिज फार्म तथा मौरीपालन स्रोत केन्द्र ललितपुरले मौरीको घारसहित सम्मान गरेको हो ।
गत मङ्सिरमा केन्द्रले सातै वटा प्रदेशका तीन जना मौरीपालकलाई छनौट गरी तालिममा बोलाएको थियो । दुर्गम जिल्लाको विकट ठाउँमा जीवनभर स्थानीय जातको मौरी पाल्दै आएका रावलले अरूले भन्दा राम्रो मौरीपालन गरेकाले नगद र मौरीको घारसमेतले सम्मान गरेको केन्द्रले जनाएको छ । बाजुरा जस्तो विकट ठाउँमा उनले मौरीपालन गरेर गाउँमा मनग्य आम्दानी गरिरहेका छन् ।
उनको मौरीको मह किन्नका लागि देशभर देखि पहिला नै अर्डर आउने गरेको छ । हिमाली भेगमा रहेको अर्गानिक मौरीको मह स्वास्थ्यका लागि निकै फाइदा हुने गरेकाले उनको मह किन्नका लागि विभिन्न ठाउँ देखि पहिला नै अर्डर आउने गरेको उनले बताए ।
मौरीपालन गर्दै आएको ६८ वर्ष पूरा भएको बताउदै उनले काठेघारमा मौरीपालन गर्दा पैसाका लागि कहिल्यै घरबाहिर निस्कनु नपरेको बताए । पैसा लिएर मह किन्न आउनेको सङ्ख्या ठुलो भएको बताउदै उनले महका लागि माग गर्नेको नाम र कसले कति पैसा दियो भनेर पहिले नै कपीमा टिपेर राख्ने गरेको बताए ।
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय धनगढीले गत वर्ष सुदूरपश्चिम प्रदेशका सबै मौरीपालकलाई बोलाएको उनले बताए । त्यहाँ पनि सबैभन्दा राम्रो मौरीपालक कृषकका रुपमा छनौट भएको उनले बताए । त्यति मात्र नभई रावललाई कृषि ज्ञान केन्द्र बाजुराले पनि अहिले अनुदानको व्यवस्था गर्ने योजना बनाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।


