माघ ०९ कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस पटक जलपन्छीको संख्या बढेको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका तलतलैया देखि नदी नालाहरुमा जलपन्छीको संख्या बढेको हो । गणनामा २५ हजार बढी जलपन्छी भेटिएका छन ।
नेपाल पन्छी संरक्षण संघका चराविद् हिरुलाल डगौंराका अनुसार निकुञ्जको शिकारी ताल, रानी तालसँगै महाकाली नदीको तटीय क्षेत्र र निकुञ्ज बाहिरको पुरैनी ताल र बन्दालगायतका तालमा ८२ प्रजातिका २५ हजार ६ सय ६० जलपन्छी भेटिएका छन् । ‘गत वर्षभन्दा यस वर्ष जलपन्छीको संख्या केही बढेको डगौंराले बताए ।
शिकारी ताल र पुरैनी तालमा सबैभन्दा बढी चरा भेटिएको बताउदै उनले गत वर्षको गणनामा २२ हजारको हाराहारीमा जलपन्छी भेटिएको जानकारी गराए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल, नेपाल पन्छी संरक्षण संघ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिनेचर गाईड एशोसिएसन, रानाथारु होमस्टे कञ्चनपुर पन्छी संरक्षण समूह र नेपाल पन्छीविद् संघले संयुक्त रुपमा जलपन्छी गणना गरेका हुन् ।
चिसो छल्न साइबेरियन चराहरु अक्टोबर देखि बसाइँ सर्ने गरेको बताउदै चराविद् डगौंराले अक्टोबर देखि मार्चसम्म चराहरु यहाँ बस्ने गरेको बताए । जनवरी ३ देखि ८ सम्म गणना गरिएको बताउदै उनले ‘ताल तलैया र नदीनालाको अवस्था राम्रो भएका कारण जलपन्छीको संख्या बढ्दै गएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले मौसमी बसाइँसराई गर्ने जलपन्छीको संख्या बढेको बताउदै बासस्थान देखि आहारा राम्रो भएको मान्नु पर्ने बताए । निकुञ्ज र आसपासका तालतलैयाको अवस्था चराका लागि राम्रो रहेको उनले बताए ।
महाकाली नदीमा पानी कम भएका कारण यस वर्ष तटीय क्षेत्रमा जलपन्छी कम देखिएको डगौंराले बताए । बन्दा तालमा पनि मिचाहा प्रजातिले पानीको सतह ढाकिएका कारण चराको संख्या कम देखिएको उनले बताए । मिचाहा प्रजातिसँगै भूक्षयका कारण निकुञ्ज भित्र र बाहिरका तालहरु साँघुरिदै गएको उनले बताए ।


