माघ ०३ धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खडेरीका कारण हिउँदेबाली सुक्न थालेका छन । यस वर्ष हिउँदे वर्षा नहुँदा पहाडी जिल्लामा गहुँ, जौं, मसुरो, तोरी, केराउ लगायतका हिउदेबाली सुक्न थालेका हुन ।
बैतडीको मेलौली नगरपालिका वडा नम्बर–६ का किसान चिन्तामणि भट्टले माघ सुरु भइसक्दा पनि यस वर्ष हिउँदे वर्षा नभएर खडेरी परेकाले हिउँदेबाली सुकेको बताए । ‘लामो खडेरीका कारण पाखो जमिनमा लगाएको हिउँदेबाली सुक्दै गएको बताउदै उनले लगाएको बाली सुक्दा खेत बाँझो जस्तै देखिने गरेको बताए ।
बैतडीका अधिकांश क्षेत्रका किसानले पाखो जमिनमै खेती गर्दै आएको बताउदै उनले सिँचाइ सुविधा नहुँदा धेरैजसोले आकाशे पानीको भरमा खेती गर्ने गरेको बताए । सिँचाइ पुगेको ठाउँमा पनि खडेरीले गर्दा खोलाको पानी कम भएकाले कुलो लाग्ने खेतको बाली पनि सुक्न थालेको भट्टले बताए । हिउँदेबाली सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने चिन्ताले किसानलाई सताउन थालेको उनले बताए ।
त्यसैगरी पञ्चेश्वर गाउँपालीका वडा नम्बर–१ का किसान रमेश सार्कीले बाली छर्ने समयमा पनि पानी नपरेकाले राम्रोसँग उम्रिन नपाएको बताउदै उम्रेको बाली पनि पानी नपरेर सुक्दै गएको बताए । अहिलेसम्म पानी नपरेको बताउदै उनले तत्कालै पानी पर्ला जस्तो संकेत पनि नदेखिएको बताए ।
खडेरीका कारण अधिकांश उम्रेको हिउँदेबाली सुकिसकेको बताउदै उनले लेकाली भेगमा हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाइ सुक्न थालेको बताए । त्यसैगरी कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बर्खेबाली मकैमा जंगली जनावरले क्षति पु¥याउने र हिउँदे बाली खडेरीले सुक्ने गरेकाले हरेक वर्ष उत्पादनमा कमी आउन थालेको बताए ।
बैतडीमा २५ हजार ७ सय हेक्टर जमिनमा खेती गर्ने गरिएको बताउदै उनले जसमा १० हजार ९ सय हेक्टर क्षत्रफलमा मात्र सिंचाई गरिने बताए । त्यसैगरी १५ हजार ४ सय हेक्टरमा गहुँ, ७ सय हेक्टरमा जौं, ३ सय हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र ५ हेक्टर क्षत्रफलमा केराउ खेती गर्ने गरिएको उनले जानकारी गराए ।


