मंसिर ०६ धनगढी । अछाममा पशुपंक्षीलाई खोप लगाउनका लागि पूर्ण खोप अभियान सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजनामा शुक्रबार देखि पूर्ण खोप अभियान सुरु भएको हो । अभियान अन्तरगत पशुपंक्षीमा विभिन्न खोपहरु लगाईने विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी ज्ञान बहादुर थापाले जिल्लाका १० वटै पालिकामा अभियान सुरु भएको बताए । उनले अभियान अन्तरगत पशुपंक्षीहरुमा पिपिआर, खोरेत, एचएसएण्ड विक्यू, रानिखेत, बङ्गुरको हैजा तथा अन्य रोग विरुद्धका खोपहरु लगाईने जानकारी गराए ।
कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभियान सुरु गरिएको थापाले जानकारी गराए । खोप लगाउने जनशक्ति भ्याक्सिनेटर यसअघि नै नियुक्त गरि सकिएको उनले जानकारी गराए । किसानहरुले पालेका गाईवस्तुहरुलाई निरोगी राख्न खोप अभियान सुरु गरिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।
शुक्रबार पालिका स्तरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी खोप अभियानको शुभारम्भ गरिएको उनले बताए । पशुमा लाग्ने रोगको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको खोप कार्यक्रमले अछाम जिल्लाका किसान खुसी भएका छन् ।
उक्त अभियानबाट पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने विज्ञहरुले बताएका छन् । जिल्लाका १० वटै पालिकामा रहेका ९१ वटै वडामा यो अभियान सञ्चालन हुने बताईएको छ । जिल्लाभरी रहेका सबै किसानका घरमा पुगेर खोप लगाउने कार्यक्रम तय भएको पशुसेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख बाल्मीकी जोशीले जानकारी गराए ।
त्यसैगरी भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्रले अभियान सञ्चालन गरेर खोप लगाउन थालेपछि किसानहरु खुसी भएका छन । आफ्नै गाउँघरमा आएर पशु प्राविधिकहरूले खोप लगाउन थालेपछि किसानहरुले आयोजक प्रति आभार प्रकट गरेका छन् ।
किसानहरु खोप लगाउने स्थानमा आफूले पालेका गाई वस्तुहरू लिएर खोप लगाउन थालेका छन् । शुल्क तिरेर पनि टाढा गएर खोप लगाउनु पर्ने बाध्यता रहेको अबश्थामा केन्द्रले अभियान सञ्चालन गरेर गाउँघरमै निःशूल्क रुपमा खोप लगाउन थालेपछि किसानहरु खुसी भएका हुन ।


