भदौ २६ धनगढी । देशमा परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द हुँदा अन्र्तराष्ट्रिय ब्यापार ठप्प भएको छ । जेन्जीहरुको आन्दोलनका कारण अन्तर्राष्ट्रिय व्यापार आयात–निर्यात सबै ठप्प भएको हो ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ । अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ ।
जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत हुन सकेको छैन । नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । चीनतर्फका नाका मध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन ।
उक्त नाका जोड्ने सडक समेत अझै सुचारु भइसकेको छैन । तातोपानी नाकामा समेत सडक सहज छैन । भारततर्फको व्यापारका लागि यातायात खुलेको छैन ।
राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै प्रकारका मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहेको यसअघि नै बताइसकेको छ । भदौमा अन्तर्राष्ट्रिय व्यापार बढी हुने र दशैं ,तिहारका लागि बढी सामान आउने बताइएको छ ।


