असार १८ डडेल्धुरा । घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेपनि नवीकरण गर्नेको सङ्ख्या भने घट्दै गएको छ । डडेल्धुरामा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेपनि नवीकरण गर्नेको सङ्ख्या भने घट्दै गएको हो ।
डडेल्धुरामा हाल सम्म चार हजार ७ सय ८४ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् भने चालु आर्थिक वर्षको हाल सम्म ६ सय ९० वटा उद्योग मात्रै नवीकरण भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले मङ्गलबार गरेको वार्षिक समीक्षा तथा बैंकिङ सेवा सम्बन्धी सरोकारवाला एवम् उद्यमी व्यवसायीहरु बिच गरेकोे अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले हालसम्म उद्योग तर्फ २ सय ५२ र वाणिज्यतर्फ ४ सय ३८ वटा फर्म मात्रै नवीकरण भएको जानकारी गराए ।
यस वर्ष १ सय ५५ वटा उद्योग दर्ता भएको बताउदै उनले यसै वर्ष ७८ वटा उद्योग खारेजी भएको जानकारी गराए । डडेल्धुरामा कृषि र पशुपन्क्षी पालनका फर्म बढी दर्ता हुने गरेको उनले बताए । कार्यालय प्रमुख भण्डारीले अनुदानका लागि फर्म दर्ता अनिवार्य भएका कारण दर्ता गर्नेक्रम बढेको जानकारी गराउदै अनुदान नपाए पछि नवीकरण नगर्ने क्रम बढेको बताए ।
कार्यालय प्रमुख भण्डारीले हाल जिल्ला सदरमुकाममा मझौला उद्योगहरु सञ्चालनमा रहेको जानकारी गराउदै यी उद्योगहरुलाई समेत अनुदानमा सहयोग गरेको बताए । भट्मासको तेल र सोविन बनाउने फारवेष्ट एग्रो जाईन्ट कम्पनीलाई घेरबारका लागि १० लाख अनुदानसँगै उग्रतारा पीउने पानी, जीएम सस नम्किन उद्योग, फर्निचर उद्योगलाई सहयोग गरेको उनले बताए ।
पूजीगततर्फ कुल ६४ लाख २५ हजार रकम विनियोजन भएकोमा १ सय ५ जनालाई शिप तालिम, ११ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको उनले जानकारी गराए । १३ लाख रकमको शिप तालिम र २० लाख रकमको प्रविधि हस्तान्तरण गरिएको उनले जानकारी गराए । यसकासाथै कारागारका कैदीबन्दिलाई बुनाई तालिम, उखु प्रवर्धन लगाएतका कार्यक्रमहरु सञ्चालन गरेको उनले जानकारी गराए ।

