धना बोहरा, चैत्र १२ धनगढी । सरकारको मौन समर्थनमा सिमेन्टको कृत्रिम मूल्यवृद्धि गरेर चर्को नाफा कमाइरहेका उद्योगीले सरियाको मूल्य पनि १५ दिनमै पाचपटक बढाएका छन । फागुन १८ अघिसम्म प्रति किलो ८७ उपभोक्ता मूल्य रहेको सरियाको भाव त्यसयता पाचौंपटक सोमबार फेरि बढाउने निर्णय भए अनुसार अब प्रतिकिलो १ सय ५ रुपैया पुग्ने भएको छ ।
प्रति बोरा ५ सय रहेको सिमेन्टको भाव मङ्सिर पहिलो साताबाट पटकपटक गरेर ८ सय ५० पु¥याउदा पनि सरकारले हस्तक्षेप नगरेपछि हौसिएका उद्योगीले सरियामा पनि मनपरी मूल्य वृद्धि गरेका छन् । सिमेन्ट तथा छडको भाव मीलीमतोमा समान दरमा बढाइएको छ । दुई महिना देखि नियमित रुपमा सबै प्रकारका सरियाकोे भाव एउटै दरमा बढिरहेको अतरिया धनगढी बजारका धेरै जस्तो व्यापारीहरुले बताएका छन । डण्डीको भाव लगातार बढ्न थालेपछि हार्डबेयर व्यापारीले उधारो बिक्री तत्काललाई रोकेका छन् ।
हार्डवेरको अधिकांश कारोबार उधारोमै हुने गरे पनि उद्योगीले निर्माण सिजन सुरु हुने मङ्सिर पहिलो साता देखि मूल्य वृद्धि सुरु गरेका हुन । दशैं अगाडि ३ सय ५० सम्म झरेको सिमेन्टको उपभोक्ता मूल्य ५ सय ५० प्रति बोरासम्म रहेको थियो । तर मङ्सिरमा भाव बढाएर ७ सय देखि ८ सय प्रति बोरा पुगेको छ ।
निर्माण व्यवसायीले आन्दोलनको चेतावनी दिए पछि उद्योग मन्त्रालयको रोहबरमा मङ्सिर अन्तिम साता सिमेन्ट उद्योगी र निर्माण व्यवसायी समेतको बैठक बसेर बढेको भावमा प्रति बोरा १ सय रुपैया घटाउने सहमति भएको थियो । यो सहमतिले प्रतिबोरा सिमेन्ट ६०० आसपास निर्धारण हुने जानकारी उद्योगीले दिएका थिए । तर उद्योगले मूल्य नघटाए पछि निर्माण व्यवसायीले पुन मन्त्रालयमा ताकेता गरेका थिए ।
त्यसपछि ६ माघमा मन्त्रालय सिमेन्ट उद्योगी र निर्माण व्यवसायबीच पूर्ण बैठक बसेको थियो । बैठकमा मूल्य घटाएर लागू गर्ने समझदारी बनेको थियो । दुवै सहमति उल्लङ्घन गर्दै उद्योगले बजारमा बढेकै मूल्य लागू गरेपछि सार्वजनिक लेखा समितिसम्म उजुरी परेको थियो । तर मन्त्रालयले आफनै नेतृत्वमा बसेको बैठकको निर्णय कार्यान्वयन गराउन सकेको छैन । संसदीय समितिको निर्देशनको पनि बास्ता गरिएको छैन ।


