फागुन २९ कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–१० चौकीमा एक जना किशोरको हत्या भएको छ ।
बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका वडा नम्बर–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।
दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो ।
सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक टेकबहादुर रावत सहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी कृष्ण केसीले जानकारी गराए ।
‘घटनामा संलग्नलाई पक्राउ गरेको बताउदै उनले पक्राउ गरिएका पाँचैजना १८ वर्ष मुनिका भएको जानकारी गराए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।


