माघ ०१ धनगढी । प्रहरीमा जागिर लगाई दिने भन्दै सुदूरपश्चिममा प्रहरीले २ लाख रकम असुली गरेको विषय बाहिर आएको छ । प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले रकम असुली गरेको विषय बाहिर आएको हो । डडेल्धुराको जोगबुढाका भट्टले बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरेर प्रहरीमा जागिर लगाई दिने भन्दै २ लाख रुपैयाँ असुल गरेको विषय बाहीर आएको हो ।
बझाङको छबिस–पाथीभेरा गाउँपालिका वडा नम्बर–७ का धामीले दीपायलबाट प्रहरी जवानमा जागिर खान २ लाख रुपैयाँ भट्टलाई बुझाएका हुन । केशवदत्त भट्टले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत हुँदा धामीबाट २ लाख रुपैयाँ विभिन्न मितिमा बुझेको पाइएको छ । २०८० चैत २७ गते ६४ हजार ८ गते ३५ हजार २ सय गरेर एक लाख धामीले भट्टको नाममा भारतबाट रकम पठाएका छन् ।
२०८१ वैशाख ९ गते २० हजार, प्रभुमनि ट्रान्सफरबाट १० हजार र अन्य माध्यमबाट ५० हजार १ सय ६० गरेर एक लाख थप भट्टको नाममा धामीले पठाइएको पाइएको छ । भट्टको नाममा धामीले प्रहरीमा जागिर लगाइदिने भन्दै २ लाख रकम जम्मा गरेका हुन् । दीपायलबाट आवेदन भर्न लगाएका धामीले प्रहरीमा जागिर खान नसके पछि रकम फिर्ता मागेका थिए ।
भट्टले ३० हजार रुपैयाँ मात्रै फिर्ता गरेका छन् । भट्टले २०८१ भदौ २० गतेको मिति राखेर दिइएको एक लाख ७० हजारको चेक हाल सम्म साटिएको छैन । धामीले पटक–पटक सम्पर्क गर्दा पनि रकम फिर्ता नभएको गुनासो गरेका छन् । सबै पैसा भारतबाट हालेको उनले बताए । ३० हजार मात्र फिर्ता भएको बताउदै उनले एक लाख ७० हजारको चेक भए पनि बैँकमा पैसा नभएकाले चेक नसाटिएको बताए ।