माघ ०१ धनगढी । माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीधाममा भक्तजनहरुको घुँईचो लागेको छ । माघ १ गते गोदावरी धाममा दर्शन गर्न र स्नान गर्न जाने भक्तजनहरुको घुँईचो लागेको हो । माघे सक्रान्तीको अवसरमा गोदावरी धाममा मकर मेलाको आयोजना गरिएको छ ।
गोदावरी धाम विकास समितिले आयोजना गरेको उक्त मेलाको सोमबार उद्घाटन गरिएको थियो । १२ दिन सम्म लाग्ने मकर मेलाको अवसरमा मैगलबार बिहानै देखि गोदावरीमा स्नान गर्नेहरूको भिड लागेको हो ।
माघे सङ्क्रान्तिलाई धार्मिक दृष्ट्रिकोणले उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले माघे सक्रान्तीको दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्म सम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता रहेको छ ।
माघे सक्रान्तीका दिन पवित्र नदीमा स्नान गरे पाप मुक्ति र सुख–शान्ति हुने धार्मिक विश्वास रहेको छ । मकर मेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ ।
गोदावरी धाममा मेलाका लागि जाने भक्तजनहरुको सहजताका लागि अत्तरिया, मालाखेती, स्याउले र गेटाबाट ५ वटा बसको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
मेलाका अवसरमा गोदावरी धाममा विभिन्न खालका पुजाका सामग्रीका स्टलहरुका साथै नास्ता पसलहरु पनि राखिएका छन ।