पौष १२ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– १० मा रहेको धाईया सलानी सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार औपचारीक कार्यक्रमका बिच संस्थाको २१ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भिम जैगडीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए भने विशिष्ठ अतिथि गोदावरी नगरपालिका कार्यपालिका सदस्य महादेव कामी रहेका थिए । कार्यक्रममा सामुदायिक बनका उपभोक्ताहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सामुदायिक बनका पूर्व अध्यक्ष रामदत्त भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्थानिय श्याम स्वाँरले गरेका थिए । सामुदायिक बनले आर्थिक वर्ष २०८०÷०८१ मा २० लाख बराबरको कारोबार गरेको जानकारी गराइएको छ ।
साधारण सभामा प्रस्तुत गरिएको बनको आर्थिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा समुहले २० लाख ९ हजार ४ सय २५ रुपैया बराबरको कारोबार गरेको छ । जसमा ८ लाख २७ हजार ३ सय ३२ रुपैया नाफा भएको जानकारी गराईएको छ ।
सामुदायिक बनको आम्दानीको रुपमा अघिल्लो आर्थिक वर्षको मौज्दात ३ लाख ७ हजार रहेको छ भने वन पैदावार बिक्रिबाट मात्रै १६ लाख ६५ हजार ६ सय ४० रुपैया आम्दानी भएको देखिएको छ ।
त्यसैगरी घाँस दाउरा बिक्रिबाट ४० हजार ८५ रुपैया र टेण्डर फाराम बिक्रिबाट ३ हजार रुपैया आम्दानी भएको देखिएको छ । सामुदायिक बनले विभिन्न १९ शिर्षकमा खर्च गरेको प्रतिवेदनले देखाएको छ ।


