ेमंसिर ३० धनगढी । कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने माध्यम बनेको छ । मेला स्थानीय महिलाका खाद्य परिकार देखि घरेलु उत्पादनहरु बिक्री गर्ने माध्यम बनेको हो । साप्ताहिक रुपमा लाग्ने महिला उद्यमी शनिवारे मेलामा वातावरण मैत्री सामग्री बिक्री हुने गरेका छन । शनिवारे मेलामा घरमै बनाएका सामग्री बिक्री हुने भएकाले स्थानीय महिला उद्यमीहरु खुशी भएका छन् ।
मंसिर १ गते शनिवारबाट सुरू भएको शनिवारे मेलामा धनगढीका महिलाले घरमै तयार गरेका विभिन्न सामग्री बिक्री गर्न थालेका छन् । धनगढी उपमहानगरपालीका वडा नम्बर–५ जाईकी कमलादी चौधरीले मेलामा आफैले तयार गरेका ढकीया लगायतका सामग्री बिक्री गर्ने गरेको बताईन । शनिवारे मेलाले घरेलु उत्पादन बिक्री गर्न सहज भएको चौधरीले बताईन ।
धनगढी उपमहानगरपालीका वडा नम्बर–१६ की सिता चौधरीले शनिवारे मेलामा ढकीया, बेना, डेलुवा दुना–टपरी लगाय आफैले तयार गरेका सामग्री बिक्री गर्ने गरेको बताईन । शनिवारे मेलाले आफूले बनाएका सामग्री बिक्री गरेर आम्दानी गर्ने अवसर दिएको चौधरीले बताइन् । शनिवारे मेला महिला उद्यमीले तयार गरेका सामग्री र खाद्य परिकार बिक्री गर्ने र बालबालिका, युवायुवतीले नाच्ने, गाउने ,रमाउने माध्यम पनि बनेको छ ।
मेलामा स्थानीय महिलाहरूले दैनिक प्रयोगमा आउने वातावरण मैत्री सामग्री समेत बिक्री गरिरहेका छन् । धनगढी उपमहानगरपालीका वडा नम्बर–३ की कफकला संग्रौलाले शनिवारे मेला बाँस तथा औषधीयुक्त काठबाट निर्मित विभिन्न सामग्री बिक्री गर्ने माध्यम बनेको बताईन । संग्रौलाले महिला उद्यमीहरूले तयार गरेका दात माझ्ने ब्रस, कपडा धुने ब्रस, झोला, बास तथा काठबाट निर्मित अन्य सामग्री बिक्री गर्दै आएको बताईन ।
वातावरणलाई प्लास्टिकमुक्त बनाउन वातावरणमैत्री सामग्री बिक्री गरेर उद्यमी, वातावरण र उपभोक्तालाई हित हुने अवस्था मेलाले निर्माण गरेको उनले बताइन् । धनगढी उपमहानगरपालिकाले मंसिर १ गतेदेखि सुरु गरेको महिला उद्यमी मेलामा खाद्य परिकार, घरेलु उत्पादनको बजारीकरण गर्ने र महिलाहरूको सिपलाई आम्दानीसँग जोड्ने माध्यम बन्दै गएको छ ।


