असोज १९ कञ्चनपुर । तीन महिना भित्र दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिने भएको छ । दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले जग्गाको भोकाधिकार दिने निर्णय गरेपछी तीन महिना भित्र निर्माण कार्य सुरु गरिने भएको हो ।
मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरे पछि काम सुरु गरिने भएको हो । असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खा बन्दरगाह निर्माणका लागि इन्टरमोडल यातायात विकास समितिलाई जमिनको भोगाधिकार दिने निर्णय गरेसंगै सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको हो ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले तीन महिना भित्र निर्माण कार्य सुरु गर्ने जानकारी गराए । छिट्टै रुख कटानको काम सुरु हुने बताउदै उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्नाका लागि अर्को ठाउँमा जमिनको खोजी गर्न पत्राचार गरिसकेको उनले बताए ।
निकुञ्ज कार्यालयले जमिन नपाए इन्टरमोडल यातायात विकास समितिले त्यति बराबरको रकम तिर्नुपर्ने कार्यकारी निर्देशक गजुरेलले जानकारी गराए । दशैंपछि कार्यालय स्थापना गरेर रुख कटानको काम सुरु हुने उनले जानकारी गराए ।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर–१ मा रहेको मायापुरी सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माण गर्ने भनेर तीन वर्षअघि निर्णय गरिएको उनले बताए । त्यसअघि दोधारा चाँदनी नगरपालिकाकै वडा नम्बर ८ को कन्जभोजमा बनाउने तयारी गरिएको भए पनि उक्त क्षेत्रका स्थानीयले विरोध गरेपछि निर्माणस्थल परिवर्तन गरिएको उनले जानकारी गराए ।


