असोज ०४ बैतडी । बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र परेको छ । औद्योगिक ग्राम निर्माण हुने स्थानमा फलाम खानी, चुनढुङ्गा र तामाको खानी रहेको छ ।
मेलौली नगरपालिका वडा नम्बर १, ३, ५ र ६ नम्बर वडा जोड्ने गरेर कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माणको काम नहुँदा औद्योगिक ग्राम अलपत्र परेको हो ।
निर्वाचनका बेलामा मात्रै औद्योगिक ग्रामको मुद्दा उठ्ने गरेको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले बताए । सुती कपडा उद्योग सञ्चालन गर्न नसकेका बेला औद्योगिक ग्राम सञ्चालन हुनेमा स्थानीयवासी ढुक्क नभएको उनले बताए ।
चुनावका बेला मात्रै औद्योगिक ग्रामको कुरा उठ्ने गरेको उनले बताए । औद्योगिक ग्रामनजिकै फलाम बाहेक नेपाली कागज बनाउने लोक्ता, बाँस–निगालो, केतकी, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिट्ठा, अमला लगायतको बहुमूल्य खानी रहेको स्थानीयवासी तथा संविधान सभा सदस्य पुरनसिंह दयालले बताए ।
औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरे पनि काम अघि बढाउन बजेट नभएका कारण समस्या भइरहेको मेलौली नगरपालिकाका प्रमुख भिम बहादुर चन्दले बताए ।

