भदौ १२ धनगढी । कैलालीको धनगढीस्थित देवहरियामा वनस्पतीको प्रयोगशाला सहित नयाँ योजना तयार गरिने भएको छ । वनस्पती अनुसन्धान केन्द्र, धनगढीले देवहरीया क्षेत्रको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार गर्ने भएको हो । धनगढी उपमहानगरपालिकाले जाखोर ताल क्षेत्रमा सोलार लाइट र मार्वल सहितको सडक निर्माण गरेको भए पनि उपमहानगरपालिकाले आफूखुसी निर्माण गरेका संरचना े प्रयोगविहिन अवस्थामा रहेका छन् ।
सङ्घीय सरकार मातहतको वनस्पती अनुसन्धान केन्द्र, धनगढी माहतको देवहरीया वनस्पती उद्यानको क्षेत्र रहेको तालमा निर्माण गरिएका संरचनाहरु प्रयोगविहीन अवस्थामा रहेका हुन । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले पुराना संरचनाहरुको संरक्षण गर्दै नयाँ संरचनाहरु निर्माण गरिने बताएका छन । वनस्पती विभागले लगानी गर्नेगरी डिपीआर तयार गरिने बताउदै उनले वनभोज क्षेत्र निर्माण गरिने बताए ।
देवहरीया वनस्पती उद्यान एक सय ४९ दशमलव पाँच हेक्टरमा फैलिएको बताउदै उनले जाखोर ताल सहितका तीनवटा जैविक विविधता भएका तालहरुको मात्र १६ हेक्टर क्षेत्रफल रहेको बताए । जाखोर तालको मात्र १२ दशमलव ५५ हेक्टर क्षेत्रफल रहेको उनले जानकारी गराए । ताल सहितको क्षेत्रफलमा वनस्पती अनुसन्धान केन्द्रले देवहरीया वनस्पती उद्यानको नामले संरक्षण गर्दै आएको छ । तीनवटा ताल सहितको क्षेत्रफल समेटेर नयाँ डिपीआर तयार गरिने उनले बताए । ताल क्षेत्रमा जडिबुडीको अनुसन्धान र प्रमाणिकरणका लागि प्रयोगशाला, आराम गर्न संरचना, पैदल यात्रीका लागि मार्ग र आध्यात्मिक ध्यानका लागि समेत क्षेत्र निर्माण गरिने बताइएको छ ।
वनस्पती अनुसन्धान केन्द्र, धनगढीका प्रमुख गंगादत्त भट्टले संरक्षण, पर्यापर्यटन र अध्ययन तथा अनुसन्धानका लागि वनस्पती उद्यान निर्माण गरिएको बताए । गुरुयोजना तयार पारेर काम थालिएको उनले जानकारी गराए । देवहरीया वनस्पती उद्यानमा नेपालको वनस्पति विविधताको पहिचान, सङ्कलन, व्यापार, अनुसन्धान र खेती प्रविधिको विकास गर्ने गरिएको उनले बताए ।
नेपाल सरकारले २०१६ सालमा वनस्पती विभागको स्थापना गरेको बताउदै उनले २०५६÷५७ सालबाट ढाँचा परिवतर्न गरेर उद्यानमा वनस्पती र जडबुटीको ज्ञान र घरेलु उपयोग अभिवृद्धिको काम हुँदै आएको बताए । उद्यान क्षेत्रमा सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा हुने वनस्पतीका नमुनाहरु रोपिएको उनले जानकारी गराए । ताल क्षेत्रमा तीन प्रकारका कमल लगायतका वनस्पतीहरु रहेको जानकारी गराउदै उनले तालमा विभिन्न जातका चराहरु समेत रहेको बताए ।
नेपालको आर्थिक विकासका लागि ३३ वटा जडिबुटी प्राथमिक्ताको सूचिमा रहेको जानकारी गराउदै प्रमुख भट्टले उद्यानमा १४ वटा भएको जानकारी गराए । देवहरिया वनस्पती उद्यानमा सुदूरपश्चिमका वनहरुमा पाइने सबै प्रकारका जडिबुटीहरु भएको बताउदै उनले जडिबुटीको पहिचान, संरक्षण र व्यापारका लागि नयाँ डिपीआर अनुसार भौतिक संरचना निर्माण गरिने जानकारी गराए ।