भदौ १२ बैतडी । बैतडीको पाटन नगरपालिकाले तीन दिन बजार अनुगमन गर्दा झण्डै एक लाख बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरेको छ । गौरा पर्वलाई लक्षित गरी भदौ पहिलो साता गरिएको बजार अनुगमनका क्रममा ९८ हजार ४ सय ८३ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको हो ।
पाटन बजार, ठाँड बजार, लोर्खा र मेल्तडा क्षेत्रमा तीन दिन अनुगमन गर्दा म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी गराए ।
उनले बजार क्षेत्रमा अझै पनि म्याद नाघेका अखाद्य सामग्री विक्रि वितरण गर्ने कार्य भइरहेकाले त्यसो नगर्न व्यापारीहरुलाई आग्रह गरिएको जानकारी गराए । उनले पाटन बजारमा अनुगमन गर्दा ४८ हजार २ सय ८१ मूल्य बराबरको म्याद नाघेको सामग्री बरामद गरिएको जानकारी गराए ।
त्यसैगरी ठाँड बजारमा अनुगमन गर्दा २६ हजार २ सय २ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले जानकारी गराए । लोर्खा र मेल्तडा क्षेत्रमा अनुगमन गर्दा २४ हजार बराबरको सामग्री बरामद गरी नष्ट गरिएको जानकारी गराउदै उनले बजार अनुगमन गर्दा होटेलहरुमा सरसफाइको कमी रहेको पाइएको जानकारी गराए ।
अखाद्य, मासु र खाना बेच्ने गरेको जानकारी गराउदै उनले बजार मानिसको स्वास्थ्यसंग जोडिएको बिषय भएकाले अखाद्य सामग्री विक्रि वितरण नगर्न सचेत गराइएको जानकारी गराए । उनले बजार अनुगमनका क्रममा कालो बजारी गर्ने गरेको, कतिपय व्यवसाय सम्बन्धित निकायमा दर्ता नभएको पाइएकाले उनीहरुलाई कालोबजारी नगर्न र सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको जानकारी गराए । बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउदै उनले अब बजार अनुगमन गर्दा अखाद्य सामग्री विक्रिवितरण गरेको पाइएमा जरीवाना गर्ने तयारी गरिएको जानकारी गराए ।