जेठ २५ धनगढी । कञ्चनपुरमा एक जना प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । हवल्दार रामसिंह धामीलाई निलम्बन गरिएको हो । कारगारका कैदी र प्रहरी हवल्दार तथा कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ती प्रहरी हवल्दारले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गरिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको बताए । घटनाको विषयमा विस्तृत छानबिन समेत भइरहेको उनले जानकारी गराए ।
बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा महेन्द्रनगर बजारमा फेला परेका थिए । उनीहरू होटलमा फेला परेका थिए । नाइके सहित प्रहरी र कर्मचारी जेलबाहिर निस्केर मदिरा सेवन गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।