बैशाख ३० बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा आयोजीत आँखा शिविरमा ६ सय ३३ जनाले सेवा लिएका छन । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेस नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको दुई दिने निशुल्क आँखा शिविरमा ६ सय ३३ जनाले सेवा लिएका हुन ।
शनिबार र आइतबार दुई दिन सञ्चालन भएको शल्यक्रिया सहितको आँखा शिविरबाट ६ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव बहादुर चन्दले जानकारी दिए । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले शिविरमा सेवा लिएको उनले जानकारी गराए । शिविरमा आएका मध्ये १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको जानकारी गराउदै उनले ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको बताए ।
आफ्नै गाउँठाउँमा शल्यक्रिया सहितको शिविरबाट आँखासम्बन्धि सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन् । गाउँपालिकाबासी र आसपासका नागरिकलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी गराए ।
नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको उनले बताए । धनगढी नेत्रालयले गत साता बैतडीको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा पनि शल्यक्रिया सहितको शिविरको आयोजना गरेको नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले जानकारी गराएका छन ।