असोज १७ दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ टिंकर बस्तीमा नेपाल टेलिकमले टुजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलवार देखि चीनको सिमानासँग जोडिएको टिंकरमा नेपाल टेलिकमले भी–स्याट प्रविधि मार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको नेपाल टेलीकमले जनाएको छ । पहिले उक्त क्षेत्रमा भी–स्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा रहेको जानकारी गराउदै अब टिंकर क्षेत्रमा रहेका करिब ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने टेलीकमले जनाएको हो । यस बाहेकक ो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा उक्त क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने टेलिकमले जनाएको छ ।
करिब तीन हजार ७ सय मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा रहेको छ । त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिने बताइएको छ । प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जानकारी गराएको हो ।


