भदौ ३१ बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुन सक्ने सुरक्षाकर्मीको टोलीले अनुमान गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड ध्वस्त भएको छ ।
आईतबार बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको छ । टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव यपरिक्षक नारायण डाँगीले जानकारी दिए ।
विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुन जस्तो धुलो मात्र फेला परेको डाँगीले जानकारी दिए । विस्फोटबाट मानवीय क्षति नभएको जानकारी गराउदै उनले सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन हुने अबश्था आएको बताए । सडक डिभिजन कार्यालयको टोली आएर त्यो खाल्डो पुरे पछि अहिले दुईतर्फी सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनजकारी गराएको छ ।


