फागुन २९ धनगढी । बैंक तथा बित्तिय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलीत सुदूरपश्चिम प्रदेशका उद्योगी ब्यवसायीले काठमाण्डौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् । देशभरका उद्योगी तथा ब्यवसायीहरुको सहभागीतामा सुदूरपश्चिम प्रदेशका उद्योगी ब्यवसायीहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । आइतबार उनीहरुले बैंकहरुको चर्को ब्याजदरको विरोध गर्दै ब्याजदर आतंक र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यापार–व्यवसाय धरासायी भएको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
कैलालीको धनगढीका ब्यवसायी सिद्धराज पनेरुले अहिलेको अवस्थामा ब्यवसायी बैंकको चर्को व्याजदरले निकै मारमा परेको बताए । उनले बैंकको चर्को व्याजदर बिरुद्ध गरिएको आन्दोलन प्रति सरकारको ध्यानाकर्षण नभएको बताए । उनले कैलालीमा बिगत केही दिन देखि आन्दोलन गरिएको बताउँदै अब काठमाण्डौँ केन्द्रित आन्दोलन सुरु भएको बताए ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बैंकको चर्को व्याजदरका विरुद्ध पटक–पटक आन्दोलन गर्दै सरकारलाई ज्ञापनपत्र समेत बुझाउदा पनि माग सम्बोधन नभए पछि आन्दोलन गर्न बाध्य भएको बताए । सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गरिने उनले जानकारी गराए । आन्दोलनका क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेको बताए ।
उद्योगी–व्यवसायी एक ठाउँमा उभिएर प्रदर्शन गर्दा पनि सरकारले वार्ताका लागि कुनै चासो नदिए पछि बैंक वित्तीय संस्थाको दादागिरी बिरुद्ध आन्दोलन गर्न बाध्य भएको उनले बताए । व्यवसायीहरुले मौद्रिक नीति परिमार्जन गर, बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो छ, बैकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका नाराहरु लेखिएका प्ले कार्ड बोकेर आन्दोलन गरेका हुन ।



